ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका ठेकेदारहरूलाई समयमै आयोजना निर्माणको काम सक्न निर्देशन दिएका छन्।
दोलखाको विगु गाउँपालिका वडा नम्बर १, गोंगरस्थित आयोजना निर्माणको स्थलगत अध्ययनपछि सरोकार पक्षसँगको अन्तरक्रियामा मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन्।
राष्ट्रिय गौरवको आयोजनामा सरकार, संसददेखि सर्वसाधारण र शेयरहोल्डरको चासो तथा आयोजनाले मुलुकको सिंगो अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने भएकाले यसको निर्माण समयमै सक्नुपर्नेमा उनले सरोकारवालाहरूलाई सचेत गराए।
आयोजना निर्माणको क्रममा देखिने सानातिना समस्या समाधानका लागि निर्माण कार्यसँग जोडिएका सबै पक्षबीच निरन्तर छलफल र परामर्श हुनु अत्यावश्यक भएको भन्दै उनले मासिक रूपमा कार्यसमिक्षा बैठक बस्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए।
स–सानामा समस्यामा अल्झेर सधैं आयोजनाको समय थप गर्दै लैजानु उपयुक्त नहुने भन्दै उनले प्रतिवद्धता अनुसार काम पूरा गर्नेतर्फ सचेत बन्न पनि आग्रह गरे।
उनले आन्तरिक छलफलबाट निकास निस्कन नसकेका विषयलाई सरकारले सम्बोधन गर्ने भन्दै २०७६ मंसिरमा परीक्षण उत्पादन सुरू गर्नेगरी निर्माण कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए।
समयमै निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई सरकारले सधैं सहयोग गर्ने भन्दै तीव्र गतिमा निर्माण कार्यमा लाग्न पनि उनले सचेत गराए।
अन्तरक्रियामा आयोजनाका प्रमुख कार्यकारी विज्ञान प्रसाद श्रेष्ठले रकम अभाव नै आयोजनाको मुख्य समस्या भएको भन्दै रकमान्तर गरेर भए पनि आयोजनालाई आवश्यक बजेटको व्यवस्था मिलाउन मन्त्री पुनसँग आग्रह गरे।
फागुन मसान्तसम्ममा आयोजनाको ९८ प्रतिशत निर्माण कार्य पूरा भएको छ।
४ सय ५६ मेगावाट क्षमताको मुलुककै ठूलो जलविद्युत् आयोजनामा भारतीय, चिनियाँ, युरोपेली विज्ञहरू र कामदार तथा ठेकेदारहरू संलग्न छन्।
आयोजना निर्माणको समय लम्बिँदै जाँदा नेपाली मुद्राको अवमूल्यन, मुल्यवृद्धि लगायत कारणले यसको लागत पनि बढ्दै गएको छ।