यहाँका एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ ।
डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो ।
गाउँपालिका आफैंले सञ्चालनमा ल्याएका बसमा सो सुविधा दिने निर्णय गरेको सो गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए। उनले भने, “हाम्रो गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकलाई यात्रा गर्न सहज होस् भन्नका लागि हामीले निःशुल्क रुपमा यातयात सेवा उपलब्ध गराउने छौँ ।”
परिचयपत्रका आधारमा उनीहरुले सो सुविधा प्राप्त गर्न सक्ने गाउँपालिकाले जनाएको छ । यसरी निःशुल्क यातायात सेवा उपलब्ध गराउने सो गाउँपालिका जिल्लाकै पहिलो गाउँपालिका भएको छ ।
यसभन्दा पहिले जिल्लाका शिखर नगरपालिकाले पनि ज्येष्ठ नागरिक र पत्रकारलाई निःशुल्क रुपमा यातायात सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।
“ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा यातायात सेवा उपलब्ध गराएपछि स्थानीयवासी खुशी भएका छन्”, पूर्वीचौकी गाउँपालिका–१ का चक्रबहादुर कठायतले भने, “गाउँपालिकाले राम्रो निर्णय गरेको छ, जो आफैँमा स्वागतयोग्य काम हो ।”
उक्त गाउँपालिकाले केहि महिनाअघि मात्र स्थानीयवासीको सहजताका लागि लाखौँ खर्चेर दुई वटा बस सञ्चालनमा ल्याएको थियो । ती दुबै बस अछामको चौखुट्टेदेखि दीपायलको पिपल्ला बजारसम्म सञ्चालन भइरहेका छन् ।
गाउँपालिकाका बसहरुले खासै राम्रो फाइदा कमाउन नसके पनि स्थानीयवासीलाई निकै राहत पुगेको सो गाउँपालिकाका अधिकृत टेकबहादुर खड्काले बताए। उनले भने, “बस सञ्चालनले खासै आम्दानी त गर्न सकेको छैन तैपनि गाडी नपाएर हैरान हुने स्थानीयवासीलाई भने राम्रै सेवा पुगेको छ ।” डोटीमा अहिले दीपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाले आफ्नै निजी बसहरु किनेर सञ्चालनमा ल्याएका छन् ।
पार्वतीको उपचारका लागि रकम जुट्दै
भिरबाट लडेर गम्भीर घाइते भई शिक्षण अस्पताल काठमाडौँमा उपचार गराइरहेकी डोटी सायल गाउँपालिका–३ की पार्वतीदेवी थापाको उपचारका लागि भारतको जोतपुरमा रहेको सुदूरपश्चिमेली समाजले सहयोग गरेका छन् ।
सुदूरपश्चिमेलीहरुको संस्था सुदूरपश्चिम समाजको अगुवाइमा सङ्कलन गरिएको ३० हजार रुपैयाँ रकम घाइते पार्वतीदेवी थापाका पति हरिपाल थापालाई हस्तान्तरण गरिएको छ ।
सुदूरपश्चिमेली समाज भारत जोतपुरबाट पठाइएको उक्त रकम चेम्बर अफ कमर्श डोटीका अध्यक्ष खगेन्द्रबहादुर साउद र सचिव तेजबहादुर डुम्रेलले संयुक्त रुपमा हस्तान्तरण गरेका छन्। सहयोग रकम बुझ्दै घाइते पार्वतीका पति हरिपाल थापाले उपचारका लागि सहयोग गर्ने सबैलाई हृदयदेखि नै धन्यवाद व्यक्त गरे। उनले भने, “सुदूरपश्चिमका साथीहरुले गरेको सहयोगले मेरो श्रीमती बच्ने भइन् यसैमा खुशी छु ।”
त्यसैगरी भारतको मदरास शहरमा काम गर्ने सायल गाउँपालिका–४ का स्थानीयवासी पूर्णबहादुर विष्टले पनि त्यहाँ रहेका नेपालीबाट ३३ हजार ६२० रुपैयाँ सङ्कलन गरी पार्वतीको उपचारका लागि पठाएको चेम्बर अफ कमर्श डोटीका सचिव तथा पार्वती बचाउ अभियानका संयोजक तेजबहादुर डुम्रेलले जानकारी दिए।
यही फागुन १ गते भिरबाट लडेर गम्भीर घाईते भएकी थापालाई जिल्ला अस्पताल सिलगढी, सेती अञ्चल अस्पताल धनगढी र नेपालगञ्ज मेडिकल कलेजमा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल काठमाडौँ पु¥याइएको थियो।
उनको उपचारमा अहिलेसम्म दुई लाख ५० हजार रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । उनको उपचारका लागि एक लाख ५० हजार रुपैयाँ कोरियामा रहेका सुदूरपश्चिमेलीहरुबाट सङ्कलन भएको र ६३ हजार ६२० रुपैयाँ भारतको जोतपुर र मदरासमा रहेका सुदूरपश्चिमेली समाजले सङ्कलन गरी पठाएको पार्वतीका श्रीमान हरिपाल थापाले जानकारी दिए।
उत्कृष्ट अङ्क ल्याउने ६ विद्यार्थीलाई छात्रवृत्ति
पदमराज स्मृति प्रतिष्ठानले बोगटान फुड्सिल गाउँपालिका–७ मा रहेका खत्याडी माविको कक्षा १२ मा अध्ययनरत ६ जना जेहेन्दार, विपन्न र उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ।
२०३८ सालमा डोटी जिल्ला सभापति रहनुभएका पदमराज जोशीको स्मरणमा प्रतिष्ठानले स्थापना गरेको उक्त कोषबाट छात्रवृृत्ति प्रदान गरिएको सो प्रतिष्ठानका अध्यक्ष रघुराज उपाध्यायले बताए। उनले भने, “हामीले पूर्वसभापति पदमराज जोशीको सम्झनामा कोष स्थापना गरेका थियौँ, सोही कोषबाट छात्रवृत्ति रकम दिएका हौँ।”
सो विद्यालयमा रहेका ६ जना विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ। उक्त छात्रवृत्ति बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले हस्तान्तरण गरेका थिए।
पूर्वसभापतिको पदमराज जोशीको सम्झनामा उनको गृहस्थान खत्याडीमा रहेको खत्याडी माविका विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरिएको सो गाउँपालिकाका उपाध्यक्ष भगवती बमले बताए।