नेपाल र बंगलादेशबीचको दोहोरो कर उन्मुक्ती सम्झौता आज हुने भएको छ। काठमाडौंमा हुने उक्तसम्झौताका लागि सबै प्रक्रिया पुरा भइसकेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। लामो समयदेखि माग हुँदै आएको यो सम्झौता गर्नका लागि मन्त्रिपरिषद्ले गएको असरमै स्वीकृति दिएको थियो।
व्यापार वा रोजगारीका माध्यमबाट आर्जन गरेपछि कुनै एक देशमा मात्र कर तिरे पुग्ने यस्तो सम्झौताबाट लगानीकर्ता र रोजगारीमा रहेकाहरु लाभान्वित हुने छन्। यो सम्झौतापछि कुनै बंगादेशीले नेपालमा व्यवसाय गरी आर्जन गरेको कमाईबाट नेपालमा आयकर तिरेपछि बंगलादेशमा तिर्न पर्दैन। यस्तो सम्झौता नहुँदा कमाएको देश र नागरिकता भएको देश दुबैले कर दावी गर्छन्।
लामो समयदेखि बंगलादेशसँग दोेहोरो कर उन्मुक्तीका सम्झौतका लागि सरकारी स्तरमै तयारी शुरु भएको थियो। आज अर्थ मन्त्रालयमा दुई देशबीच सम्झौता हुने छ। अहिले नेपाली र बंगलादेशी दुबै नागरिकले कमाएको र स्थायी बासिन्दा भएको दुबै देशमा एउटै कमाईबाट आयकर तिर्नुपरेको छ। यसबाट दोहोरो करको भार भएको भन्दै सम्झौताको माग हुँदै आएको थियो।
नेपालले हालसम्म भारत, चीन, कोरिया, नर्वे, थाइल्यान्ड,श्रीलंका, मौरिसस, अस्ट्रिया र पाकिस्तानसँग दोहोरो कर उन्मुक्ती सम्झौता गरिसकेको छ। पछिल्लो समय नेपालले सयुक्त अधिराज्य बेलयातसँग सम्झौता गर्न अनुमति दिइसकेको छ।
नेपालको आयकर ऐन, २०५८ को दफा ७३ मा नेपाल सरकारले कुनै पनि विदेशी सरकारसँग दोहोरो कर नलाग्ने सम्भmैता गर्नसक्ने व्यवस्था गरिदिएको छ। “कुनै व्यक्तिको कुनै आयमा यस ऐन वा प्रचलित कानून बमोजिम कर लाग्ने व्यवस्था भएको र सोही आयमा विदेशी मुलुकमा पनि कर लाग्ने रहेछ भने त्यस्तो दोहोरो कर नलाग्ने गर्न नेपाल सरकारद्वारा विदेशी सरकारसित अन्तर्राष्ट्रिय सम्झौता गर्न सक्नेछ ।” ऐनमा भनिएको छ।
ऐनले दिएको यही अधिकार प्रयोग गरी सरकारले अन्य देशहरुसँग पनि सम्झौताको प्रक्रिया अघि बढाएको छ। लगानी आकर्षित गर्न पनि यस्तो सम्झौताले महत्वपूर्ण भुमिका खेल्ने अधिकारीहरुको विश्वास रहेको छ।