नेपालमा पहिलो पटक कफीको गुणस्तरीय उत्पादन, प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्न सक्ने जनशक्ति उत्पादनका लागि ‘क्यु गे्रडिङ’ तालिम लतिलपुरमा सञ्चालन हुने भएको छ।
तालिम अमेरिकाको कफी क्वालिटी इन्स्टिच्युट (सिक्युआई) र स्पेसल्टी कफी एसोसियसनको सहकार्यमा नेशनल एकेडेमीले गर्नलागेको हो।
तालिम फागुन ७ देखि १५ गते सम्म सञ्चालन हुने नेशनल कफी एकेडेमीका अध्यक्ष डा. राजकुमार बञ्जाराले जानकारी दिए।तालिममा गुणस्तरीय कफी भनेको के हो, गुणस्तरीय कफी कसरी उत्पादन गर्न सकिन्छ? भन्ने विषयमा जानकारी गराइने अध्यक्ष बञ्जाराको भनाइ छ।
नेपालमा क्यु ग्रेडर( कफीको गुणस्तर मापन गर्ने प्राविधिक ) सीमित मात्रामा छन्। यस्ता दक्ष प्राविधिक उत्पादनका लागि विश्वव्यापी रूपमा ‘क्यु ग्रेडिङ’ तालिम हुन लागेको अध्यक्ष बञ्जाराले बताए।
उनका अनुसार कफीको गुणस्तर सम्बन्धी यो विश्वकै सबैभन्दा उच्च स्तरको तालिम हो। यो तालिममा सहभागी भईसकेपछि कफीलाई वर्गीकरण गरेर १०० पूर्णाङ्कमा कति स्कोर आयो भनेर तालिम प्राप्त व्यक्तिले स्कोरिङ गर्न सक्छ।
क्यु ग्रेडरले उत्पादित कफी कुन गुणस्तरको रहेछ भन्ने कुरा पत्ता लगाउन सक्छ। ८० स्कोर आएको कफी स्पेसल्टी कफी अन्तर्गत पर्दछ।आयोजकका अनुसार तालिमका प्रमुख प्रशिक्षक जापानी नागरिक कोजु मात्सुजुवा रहनेछन्।
सहभागी प्रशिक्षार्थीले ९ दिनको २ लाख ८७ हजार ५ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने आयोजकले जानकारी दिएको छ।