विदेशबाट फर्किएका नेपालीले ल्याउने सामानमा कडाइ गरिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मदिराका बोतल थुप्रिएको छ। जनवरी १ देखि विदेसिएकाले ल्याउने सामानमा कडाइ गरिन थालेको हो।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता चुडाराज सापकोटाले कडाइ गरिएपछि २ हजार बढी मदिराका बोतलहरू जफत भएको जानकारी दिए।
‘विदेसिएकाले मदिरा बढी मात्रामा ल्याउने गरेको देखिन्छ’ सेतोपाटीसितको कुराकानीमा उनले भने ‘ऐनअनुरूप १ लिटरभन्दा बढी परिमाण ल्याएकाको जफत भएको हो।’
जफत भएको अधिकांश मदिरा ‘रेड लेवल’ र ‘ब्ल्याक लेवल’ छन्। संख्यात्मक रूपमा हेर्दा दैनिक औसत १३३ बोतल मदिरा विमानस्थलमा जफत हुने गरेको देखिन्छ।
तर पछिल्ला दिनमा जफत हुने मदिराको परिमाण घट्दै गएको सापकोटाले बताए।
‘ऐनमा भएको व्यवस्थाअनुरूप विमानस्थलमा कडाइ गरिएको कुरा धेरैलाई थाहा हुँदै गयो’ उनले भने ‘त्यसकारण पछिल्ला दिनमा केही घटेको छ।’
७५० मिलिलिटरका दुई बोतल ल्याएमा एउटा बोतल जफत हुने सापकोटाले बताए। तर ५ सय मिलिलिटर परिमाण रहेको मदिरा २ बोतलसम्म ल्याउन पाइन्छ।
जनवरी १ अघिसम्म मदिरामा केही सहुलियत दिइँदै आएको थियो। पछिल्लो समय ऐनको व्यवस्थालाई नै कडाइ गरिँदा मदिराको जफत उच्च देखिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
के गरिन्छ जफत भएको मदिरा ?
जफत भएको मदिराको सबैभन्दा पहिले बजार मूल्य निर्धारण गरिन्छ। त्यसका लागि छुट्टै मूल्य निर्धारण समिति नै रहेको सापकोटाले जानकारी दिए। संकलन भएको मदिरालाई १ महिनापछि लिलामी विक्रीका लागि सूचना निकालिन्छ।
पुसमा संकलन भएको मदिराको माघको पहिलो साता लिलामी विक्रीका लागि सूचना निकालिने उनले बताए। लिलामी बिक्री गरी आएको पैसा राजस्वका रूपमा जम्मा हुने सापकोटाले बताए।
यो पनि हेर्नुहोस्- त्रिभुवन विमानस्थलमा विदेसिएकाले ल्याउने सामानमा कडाई