राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व छलीको आरोपमा २ करो ७० बढीको विगो जरिबाना माग गर्दै अदालतमा मुद्दा दायार गरेको छ।
कार्यालयले पटेल ट्रेडर्स प्रालीका विरुद्ध रुपन्देही जिल्ला अदालत रुपन्देहीमा आज राजस्व चुहावटको आरोपमा मुद्दा दायर गरेको छ ।कात्तिक ७ गते राजस्व अनुसन्धान कार्यालय बुटवल मातहत रहेको बर्दघाट चेकपोस्टमा नेपालगन्जबाट काठमाण्डौ तर्फ जाँदै गरेको पटेल ट्रेडर्सको मालबस्तु रहेको ना ५ ख ३८५२ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा रहेका प्लास्टिकका कुर्सी समेत मालवस्तुमा राजस्व चुहावटको शंका लागी ट्रकलाई नियन्त्रणमा लिएको थियो।
उक्त अनुसन्धानबाट राजस्व चुहावट गरेको पाइएको र पटेल ट्रेडर्सका ओम नारायण पटेल र अजय कुमार सिंहलाई एउटै प्रज्ञापन पत्र पटक पटक प्रयोग गरी मालसामान ओसार पसार गरेको दाबी सहित जनही १ करोड १५ लाख ८० हजार ६४२ रुपैयाँ र ३ बर्ष जेल सजाय माग दाबी गरि मुद्दा दायर गरेको कार्यालयले जानकारी दिएको छ।
रूपन्देही जिल्ला अदालतमा लक्ष्मी इन्टरप्राइजेजका घनश्याम यादवलाई भन्सार छली गरेको आरोपमा मुख्य प्रतिवादी बनाई २० लाख १५ हजार ९१२ रुपैयाँ र ३ बर्ष कैद सजाय माग दाबी सहित मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ। सोही मुद्दामा राजस्व चुहावटमा सहयोग गरेको आरोपमा पशुपति ट्रान्सपोर्ट भैरहवा शाखाका म्यानेजर कृष्ण गुप्ता र जितेन्द्र मल्लाहलाई जनही १० लाख ७ हजार ९५६ रुपैयाँ र डेढ बर्ष कैद सजाय माग दावी गरी मुद्दा दायर गरीएको छ ।