संसदको सार्वजनिक लेखासमिति सभापति भरत शाहले सुरक्षाको नाममा अन्तशुल्क स्टिकर विदेशमा मात्र छाप्न नहुने बताएका छन्।
देशको व्यापार घाटा बढीरहेको सन्दर्भमा सबै कुरा विदेशमा मात्र काम गराउने प्रवृत्ति रोक्नुपर्ने उनको भनाइ छ।नेपाली प्रेसले पनि सुरक्षाका मापदण्ड पूरा गरेको तर त्यसको प्रमाणीकरण नहुनु फरक कुरा भएको उनले बताए।
‘सुरक्षाको कुरा तपाईहरु आर्मी पुलिस लगाएर गर्नुहोस तर स्वदेशमै छाप्नुहोस’ उनले भने।आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले सुरक्षाको कुरा भन्दा पनि नेपाली व्यवसायीहरुलाई जसरी पनि सहभागी गराउनुपर्ने बताएका थिए।
अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले स्टिकर र रिचार्ज कार्ड छाप्नु र स्टिकर छाप्नु एउटै नभएको बताए।‘सुरक्षा र गुणस्तरका लागि हामिले विश्वब्यापी टेन्डरमा गएका हौ’ उनले समितिमा भने।
नेपालमा सुरक्षित प्रेसको अनुमति कसैले नलिएको उनको भनाई छ।‘हामिले नेपालीलाई सहभागी नहोउ भनेका छैनौं, हामिले त सुरक्षित प्रेस हुनुपर्छ भनेका छौ’ उनले भने।
ठूलो राजस्वको सुरक्षणमा प्रयोग हुने स्टिकर छाप्दा उच्च सुरक्षित प्रेसमा छाप्न ेमात्र होइन यसको डिजाइनका पनि निश्चित मापदण्ड पूरा गर्नुपर्ने उनको भनाइ छ।टेन्डर गर्दा प्रतिस्पर्धा सिमित गर्न नखोजिएको उनले बताए।
नेपाली व्यापारीलेनै स्टिकर छाप्न सक्ने भए पनि अर्थ मन्त्रालयले विदेशीलाई दिएको भन्दै लेखा समितिमा उजुरी परेको थियो। उक्त उजुरीमाथि छलफल गर्न शुक्रबार मन्त्रालयका अधिकारीहरुलाई बोलइएको हो।