प्रतिनिधिसभाका सांसदहरूले पूँजीगत खर्च सन्तोषजनक नरहेको भन्दै सरकारसमक्ष गुनासो गरेका छन्।
संघीय संसद प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको सोमबारको बैठकमा पूँजीगत खर्चसम्बन्धी छलफलमा भाग लिँदै सांसदहरूले पूँजीगत खर्च जनताको अपेक्षा अनुसार हुन नसकेको भन्दै सरकारसमक्ष गुनासो गरेका हुन्।
बैठकमा समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूँजीगत खर्च गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले नयाँ आर्थिक वर्ष सुरू भएको ४ महिना बित्दा पनि आयोजनाहरूको डिजाइनको काम समेत सुरू गर्न नसकेको भन्दै कहिले पूँजीगत खर्च गर्न सुरू गर्ने भनी सरकारसँग प्रश्न समेत गरे।
समितिका अर्का सदस्य विष्णु पौडेलले औचित्य पुष्टि नभई गैर बजेट विनियोजन नगर्न पनि सरकारलाई सचेत गराए।
पूर्व अर्थमन्त्री समेत रहेका उनले गैर बजेटको दबाब अर्थ मन्त्रालयका परेको उल्लेख गर्दै त्यस्ता परिपार्टीको अन्त्य गर्न पनि अर्थ मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराए।
समितिको बैठकमा अर्थ सचिव राजन खनालले गैर बजेटको दबाब नदिन अन्य मन्त्रालयलाई आग्रह गरे।
उनले अति आवश्यक परे मन्त्रालयले आफ्नै स्रोत परिचालन गरेर पनि बजेट खर्च गर्न सकिने व्यवस्था गरिएको पनि स्मरण गराए।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायतका विभिन्न मन्त्रालयका पदाधिकारीहरूले पूँजीगत खर्चको अवस्थाबारे समितिलाई जानकारी गराएका थिए ।