एक वर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको पहिलो शैक्षिक सत्र सम्पन्न भएको छ।
कोर्ष अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस र काठमाडौंस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजनामा सञ्चालन भएको हो। कोर्ष गत जनवरीमा राजधानीमा सुरु भएर आज सम्पन्न भएको हो।
जनकपुरमा आयोजित पहिलो दिक्षान्त समारोहमा सहभागीहरुलाई प्रमाणपत्र तथा ब्याच वितरण गरिएको आयोजकले जनाएको छ।कार्यक्रममा प्रदेश नम्बर दुईका प्रमुख रत्नेश्वरलाल कायस्थले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए।
क्रक इन्स्टिच्युट फर पिस एन्ड जस्टिसका कार्यकारी निर्देशक एन्ड्रयु ब्लुमले आईपीजे इमर्जिङ लिडर्स प्रोग्रामलाई सहयोग गर्न मात्र नभई कार्यक्रमका सहभागीहरुबाट केही कुरा सिक्न र अनुभव आदानप्रदान गर्न नेपाल आएको बताए।नेपालमा सिकेको र अनुभव गरेका कुराहरु आफूले अमेरिका र विश्वका अन्य देशमा पनि पुर्याउने उनको भनाइ छ।
क्रक इन्स्टिच्युट फर पिस एन्ड जस्टिसका कार्यक्रम निर्देशक ड्यानियल ओर्थले नेपाल पनि अमेरिकाजस्तै विविधतायुक्त देश भएको र यसलाई राजनीतिक हतियारको रुपमा नभई सबल पक्षको रुपमा लिनुपर्ने बताए।
सहभागी विद्यार्थीहरुको तर्फबाट बोल्दै पहाडी गोरखा जिल्लाबाट सहभागी विद्यार्थी शरण श्रेष्ठले कार्यक्रम जिवनोपयोगी, विषयवस्तु केन्द्रित तथा नेतृत्व विकासका लागि उपयोगी भएको बताए। कार्यक्रमबाट सिकेका कुराहरु आफ्नो क्षेत्रमा लागु गर्ने उनले बताए।