केही समय अघि विश्व बैंकले सार्वजनिक गरेको डुइङ विजनेस रिपोर्टको सूचकमाथि नेपालले प्रश्न उठाएको छ।
करको फाइलिङको सानो समस्यालाई देखाएकै पटक ५ स्थान तल झारिएको र यो स्वभाविक नभएको अर्थमन्त्री युवराज खतिवडाले बताए।
विश्व बैंकसमक्ष यसमा प्रश्न उठाएपछि रिभ्यूको क्रममा रहेको उनले जानकारी दिए।
उनका अनुसार सरकारले प्रश्न उठाएपछि विश्व बैंकले परिमार्जनका लागि मिसन पठाउन लागेको छ। सातौं राष्ट्रिय कर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै खतिवडाले लोक कल्याणकारी राज्यमा कर तिर्नपर्छ भनेर कडाइ गर्दा सूचक मूल्यांकन नै अस्वभाविक पार्न नमिल्ने बताए। विश्व बैंकले नेपालमा कर तिर्ने समय र लागत झनै बढेको र यसले गर्दा अघिल्लो वर्षको तुलनामा व्यापार गर्ने वातावरण झनै बिग्रेको उल्लेख गरेको छ।
व्यापार गर्ने सहजताको सूचकमा नेपाल ५ स्थान तल झरेको थियो। नेपालमा कर प्रणाली सुधारको क्रममा रहेको र स्वच्छ र पारदर्शी प्रणाली स्थापना गर्न कुनै कसर बाँकी नराखिने खतिवडाको भनाइ छ।