‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ बुटवलमा लुम्बिनी एक्स्पो २०७५ हुने भएको छ।
रुपन्देही व्यापार संघले आगामी पुस ५ गतेदेखि १८ गतेसम्म बुटवल मण्डपमा लुम्बिनी एक्स्पो सञ्चालन गर्ने जनाएको छ। संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठले एक्स्पोको तयारीका कामहरु शुरु गरिएको जानकारी दिए।
अहिले व्यापार मेलास्थल बुटवल मण्डपमा स्टल निर्माणका कामहरु भईरहेका छन्। मेला आयोजकले विगत एक महिनादेखि नै सचिवालयलाई बुटवल मण्डपमा सारिसकेको छ ।
बस्तुको विक्री वितरणसँगै कृषिको व्यवसायीकरण, आधुनिकरण तथा स्थानीय घरेलु उत्पादनलाई बजारिकरणमा मेलाले सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले दाबी गरे। मेलामा सूचना तथा संचार, शैक्षिक, सेवा मूलक, वैकल्पिक उर्जा, स्वदेशी उत्पादनका वस्तुहरुको विक्री वितरण तथा प्रदर्शन गरिने छन् ।
८ लाख बढी दर्शकले व्यापार मेलाको अवलोकन गर्ने तथा करिब ५० करोड बराबरको कारोवार हुने आयोजकले अपेक्षा गरेको छ।
मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेशिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, सूचना प्रविधि, टेक्सटाइल्स, गार्मेन्ट्स तथा फुटवेयर, फर्निचर तथा फर्निसिङका सामाग्री, निर्माण सामाग्री, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तिय संस्था र होटल तथा रेष्टुरेण्टका गरि करिब ६ सय स्टलको सहभागिता रहने अनुमान गरिएको छ।
मेला अवधिमा मनोरञ्जनका लागि विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत लोक दोहोरी प्रतियोगिता, डान्स आइडियल, लोक नृत्य, विद्यालयस्तरीय नृत्यलगायतका विभिन्न प्रतियोगितासमेत समावेश गरिने आयोजकले जनाएको छ ।