नेपाल हस्तकला महासंघको १६ औँ हस्तकला व्यापार मेला र १४ औँ हस्तकला प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
बुधबारबाट सुरु भएको मेला मंसिर २ गते सम्म चल्नेछ । मेला उद्घाटन गर्दै अर्थ मन्त्री युवराज खतिवडाले स्थानीय कच्चा पदार्थमा आधारित, स्वदेशी हस्तकलाको प्रवद्र्धन हुन सके राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए। साथै हस्तकलाको विकास र प्रवद्र्धनमा सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्।
कार्यक्रममा १४ औँ हस्तकला प्रतियोगितामा सहभागीबाट उत्कृष्टलाई नगद सहित सम्मान गरिएको थियो ।मेला संचालनको लागि १ करोड रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ। जसमध्ये २५ लाख रुपैयाँ सरकारी र १ लाख रुपैयाँ उद्योग वाणिज्य महासंघले सहयोग रहेको छ।
मेलामा १० करोड बराबर कारोबार हुने आयोजकको दावी छ। मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान, उनी, सुर्ती एवं ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रर्दशनी तथा बिक्रिका लागि राखिएका छन।
मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल चेम्वर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य संघ, स्वच्छ व्यवसायी समूह नेपालले सहयोग गरेका छन ।
मेलामा ४५ जिल्लाका २०० बढी स्टलह छन । साथै भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका २० स्टल छन।