सरकारले देशभर बनाउने भनेर घोषणा गरेका ६ वटा सुरुङ मार्गको अध्ययन गर्न दातृ मुलुकहरूसँग प्राविधिक सहयोग दिन प्रस्ताव गरेको छ। चालू वर्षको बजेटमा सातवटा ६ वटा सुरुङको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ।
अर्थ मन्त्रालयले सुरुङको अनुभव र प्रविधि भएका मुलुकसँग अध्ययन तथा प्राविधिक सहयोग गरिदिन प्रस्ताव गरेको हो। चीन, जापान र स्वीट्जरल्यान्डलाई २/२ वटा सुरुङको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) बनाइदिन मन्त्रालयले प्रस्ताव गरेको छ।
तीमध्ये स्वीट्जरल्यान्डले बुटवल–पाल्पा सडकखण्डाको सिद्धबाबामा सुरुङ बनाउन पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ भने डिपिआर पनि बनाउन सहमत भइसकेको छ।
बजेटमार्फत् सरकारले टोखा–छहरे, सिद्धबाबा, बीपी राजमार्गको खुर्कोट–चियाबारी, दिपायलको विपिननगर–खुटिया र थानकोट–चित्लाङमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ। त्यस्तै कोटेश्वर–जडिबुटीमा पनि सरकारले सुरुङ बनाउन अध्ययन गर्ने घोषणा गरेको छ।
नागढुंगा– नौबिसेमा सुरुङ मार्ग निर्माणको काम यही वर्ष सुरू हुने भएको छ। यो मार्ग जापान सरकारले बनाइदिन लागेको हो।
यसरी दातृ निकायबाट प्राविधिक सहयोग स्वरुप पूर्णतया अनुदान हुने अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक साहयता समुन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले जानकारी दिए।