ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रूपमा रहने भएको छ ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिँदै सम्झौता पत्रमा ग्राण्डी इन्टरनेशनल अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार ग्राण्डीले पोखरामा यही कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने प्रिमियर लिगका लागि आवश्यक पर्ने डाक्टर, फिजियोथेरापिस्ट र खेल सञ्चालन हुने मैदानमा आवश्यक स्वास्थ्यकर्मी र मेडिकल सामग्री उपलब्ध गराउने छ ।
सम्झौतापछि ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ग्रान्डीले विगत लामो समयदेखि घाइते भएका खेलाडीको सफल उपचार गर्दै आएको र पिपिएलसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा लामो समयदेखि राष्ट्रिय टिमका खेलाडीहरू पृथु बाँस्कोटा, अमृत भट्टराई, ज्ञानेन्द्र मल्ल लगायतका खेलाडीहरूको सफल उपचार गरी खेल मैदानमा फर्काउन सफल भएकोमा बधाइ दिए।
क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले क्रिकेट खेलाडीको उपचारमा ग्रान्डी अस्पतालले दिएको सेवा स्मरण गर्दै पिपिएलसँग सहकार्य गरेकोमा आभार व्यक्त गरे।