नेपालको मुख्य दातृ निकाय विश्व बैंकले दुईवटा कार्यक्रमका लागि २३ अर्ब नेपाली रुपैयाँ बराबरको ऋण दिने भएको छ। वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयनका लागि २० करोड अमेरिकी डलर सहुलियत ऋण सहायता प्रदान गर्ने सम्झौतामा बुधबार हस्ताक्षर भएको छ।
अर्थमन्त्री युवराज खतिवडा तथा विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकको तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर चिम्याओ फ्यानले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।
इन्डोनेसियाको बालीमा जारी विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकको अवसरमा उक्त सम्झौता भएको हो।
दुईवटा ऋण सम्झाैता भएकामा पहिलो चौथो वित्तीय क्षेत्र स्थायित्व कार्यक्रममा खर्च हुने छ। २०१३ मा सुरु भएको यो कार्यक्रमको यो अन्तिम किस्ता हो। यसमा १० करोड अमेरिकी डलर छ।
दोस्रो सम्झौता ऊर्जा क्षेत्र विकास कार्यक्रमका लागि हो। यो ऊर्जा क्षेत्रको संस्थागत सुधारका लागि खर्च हुने छ।
अर्थमन्त्री खतिवडाले नेपालको पूर्वाधार, शिक्षा स्वास्थ्य लगायतका सामाजिक क्षेत्र र पर्यटन क्षेत्रको विकासमा नेपाललाइ थप स्रोतको आवश्यकता भएकाले आगामी दिनमा सहयोग अझ वृद्धि हुने विश्वास व्यक्त गरे।
नेपालमा थप राजस्व परिचालनका सम्भावना कम भएको अवस्थामा विकास सहायताको भूमिका अझ बढेको बताउँदै उनले भूकम्पपछिको पुनर्निर्माण जारी रहेको र त्यसका लागि आवश्यक स्रोत कमी भएको जानकारी गराएका थिए।
नेपालले अवलम्बन गरेका आर्थिक तथा नीतिगत सुधारप्रति सन्तोष व्यक्त गर्दै विश्व बैंकका उपाध्यक्ष सेफरले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत परिचालन हुने गरी आगामी अवधिमा सहायता वृद्धि हुने अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।