ठूला करदाता कार्यालयको केही क्षेत्राधिकारसहित १, २ र ३ क्षेत्रीय कर कार्यालयहरु गाभिएर मध्यमस्तरीय कर कार्यालय संचालनमा आएको छ।
सो कार्यालयलको आजै अर्थमन्त्री डा. युवराज खतिवडाले औपचारिक उद्घाटन गरेका हुन्।
मध्यमस्तरीय कर कार्यालयको नेतृत्व सहसचिव झक्क प्रसाद आचार्यलाई दिइएको छ।
कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले उठाउनुपर्ने १ रुपैयाँ पनि नछोड्न र नलिनुपर्ने १ रुपैयाँ पनि नलिन निर्देशन दिए। मुलुकको राजश्व संकलनलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिँदै उनले दायरबाहिर रहेकालाई समेट्नेगरी काम गर्न सुझाव दिए। विभिन्न क्षेत्रअनुसार कारोबारको सीमा तोकेर कार्यालयलाई क्षेत्राधिकार दिएको छ।
कार्यालय प्रमुख आचार्यका अनुसार कार्यालयले सामान्यतया ४० देखि ८० करोड कारोबार हुने करदाता हेर्ने छ। तर बैंक, मेडिकल कलेज, निर्माण व्यवसाय गर्ने संस्था, ट्राभलजस्ता कम्पनीको हकमा २५ करोडदेखि माथिको कारोबार हेर्ने छ।
मध्यमस्तरीय कर कार्यालयको क्षेत्राधिकारभित्र बढीमा तत्काल ७ सय करदाता हुने कार्यालयको आँकलन छ। ४० करोड माथिको कारोबार गर्ने करदाता हेर्दै आएको ठूला करदाता कार्यालयको क्षेत्राधिकरमा करदाताको संख्या तत्काल घट्ने भएको छ।
हाल १३ सय करदाता भएको उक्त कार्यलयको क्षेत्राधिकारबाट आधा करदाता कम हुने छन्। युवराज खतिवडाले अर्थमन्त्रालय सम्हालेपछि लोकसेवा आयोगबाट अर्थ मन्त्रालय आएका आचार्यलाई नयाँ कार्यालयको नेतृत्वको जिम्मा दिइएको छ।
नयाँ कार्यालय स्थापना र संचालनको अनुभव भएको भन्दै अर्थ मन्त्रालयले आचार्यलाई फिल्ड कार्यालयको प्रमुख बनाएको हो। कार्यालयमा ८ जना उपसचिव २० जना शाखा अधिकृत दिइएको छ।