कर्मचारी सञ्चयकोषसँग करिब ३ खर्ब रुपैयाँ मौज्दात रहेको छ। ६ लाख सञ्चयकर्ताको २ खर्ब ७८ अर्ब रुपैयाँ मौज्दात रहेको कोषले जनाएको छ।
कोषको कुल लगानी २ खर्ब ८७ अर्ब छ। कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार वि.सं.२०१९ भदौ ३१ गते कोष स्थापना भएको हो।
स्थापनाको ५७ औं वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा सो जानकारी दिइएको हो। कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोषको ठूलो रकमलाई पूर्वाधार निर्माणका क्षेत्रमा लगाउन सुझाव दिए। ‘धेरै ब्याजको लोभमा बैंकहरुलाई स्रोत जुटाइदिने काममा मात्रै कोष केन्द्रित हुन हुँदैन’ उनले भने।
कर्मचारी सञ्चयकोष सामाजिक सुरक्षण कोष समेत रहेको कारण सामाजिक सुरक्षाका कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने उनको भनाइ छ।
लगानी योग्य रकमलाई एक वर्षभन्दा वढी अवधिको योजनाहरुमा लगानी गरी पुँजी बजारको प्रमुख खेलाडीको रुपमा रहन सुझाव दिए। उनले नेपाल सरकारको नीति अनुसार कर्मचारी आवसको लागि काम गर्न कोषलाई आग्रह गरे।
यसैगरी सोही कार्यक्रममा बोल्दै सरकारका राजश्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष शिशिर कुमार ढुंगानाले कोषलाई सुदृढ सामाजिक सुरक्षण संयन्त्रको रुपमा विकास गर्दै लैजाने नीति रहेको बताए।
उनले कोषमा रहेको रकमको दीर्घकालिन ब्यवस्थापन गर्न श्रोत ब्यवस्थापन र लगानी विविधिकरणमा सुधार गर्नुपर्ने बताए। कोषले निर्णय गर्दा जहिले पनि सञ्चयकर्ताहरुको बृहत्तर हितलाई हेरेरमात्र निर्णय गर्नुपर्ने उनको भनाइ छ।
कोषका प्रशासक तुलसी प्रसाद गौतमले नेपाल सरकारले अघि सारेको एकिकृत सामाजिक सुरक्षाको अवधारणलाई सार्थक तुल्याउन कर्मचारी सञ्चयकोषलाई प्राप्त हुने भुमिका र जिम्मेवारी निर्वाह गर्न कोष प्रतिबद्ध रहेको बताए।
उनले कोष सदैब सञ्चयकर्ताको हित र सन्तुष्टिप्रति क्रियाशिल रहिरहने प्रतिबद्धता ब्यक्त गरे। उक्त कार्यक्रममा कोषमा २५ वर्ष र १५ वर्ष सेवा गर्ने ३ जना कर्मचारीलाई दिर्घसेवा पदकबाट सम्मान गरिएको थियो। साथै एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने कर्मचारीका सन्ततिलाई पुरस्कृत गरिएको थियो।
संचित रकमबाट कोषले सञ्चयकर्ताको सामाजिक आवश्यकता पूर्ति गर्नको लागि विभिन्न सापटी सुविधाहरु प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट कोष खडा गरी विभिन्न किसिमका सामाजिक सुरक्षणका सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
यसैगरी कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबर्धित विभिन्न जलविद्युत आयोजनामा ऋण लगानी गरेको छ। नेपाल बायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ।
यस्तै कोषले सञ्चयकर्ताको बहुमत शेयर स्वामित्व रहने गरी ६८८ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणको प्रारम्भिक प्रकृयाको शुरुवात गरेको छ।