बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि कम्पनी छनौटको प्रक्रिया अघि बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थल निर्माण तथा उड्डयन नियमक नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको छ।
सार्वजनिक निजी साझेदरी मोडलमा निर्माण गर्ने निर्णय गरेको मन्त्रालयले त्यहीअनुसार कम्पनी छनौटको काम अघि बढाउन पत्र पठाएको हो।
कम्पनी छनौटका लागि आव्हान हुने टेन्डर दस्तावेज तयार गरी आउने तीन महिनाभित्र सम्झौताको काम सुरु गर्नेगरी काम अघि बढाउन पत्र पठाइएको पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दए।
‘हामीले क्यानलाई पत्र पठाएका छौं त्यसपछि प्रस्ताव माग गर्दै टेन्डर आव्हान हुन्छ यो काम चार महिनाभित्र सकिन्छ त्यसपछि सहमतिको क्रम सुरु हुन्छ’ उनले भने,‘त्योसँग हामी आवस्यक जग्गा खाली गर्ने काम गछौ्र्र।’
अहिले पनि धेरै कम्पनी विमानस्थल बनाउन इच्छा देखाएर सम्पर्कमा आएका उनको भनाइ छ।
‘हामी त्यत्तिकै यो निर्णयमा पुगेका छैनौ, हामीसँग अहिले पनि पाँच वर्षमै आयोजना सम्पन्न गर्नेगरी प्रस्ताव आएका छन्’ उनले भने,‘तर हामी खुल्ला प्रतिस्पपर्धाबाट धेरै लाभदायक प्रस्तावलाईमात्र छनौट गर्छौ।’
क्यानले प्रस्ताव आव्हान गरेपछि विमानस्थल निर्माण तथा सञ्चालन गर्न इच्छुक कम्पनीलाई आव्हान गर्नेछ। यसरी आउने आसयपत्रमा कम्पनीले विमानस्थल निर्माण, सञ्चालन, लगानी तथा प्रतिफलसहितको आफ्नो आसय व्यक्त गर्नेछन्।
पीपीपी मोडलमा सञ्चालन र हस्तान्तरण, निर्माण, सञ्चालन र हस्तान्तरण, निर्माण, ग्रहण, सञ्चालन र हस्तान्तरण जस्ता मोडल हुन्छन्।
सरकारले आव्हान गरेको विश्वव्यापी टेन्डरमा सहभागी कम्पनीका आसयपत्रमा मोडालिटी, सहुलियत र शर्त राखेका हुन्छन्। त्यस मध्येबाट एक छनोट भएपछि उक्त कम्पनीबाट विस्तृत प्रस्ताव माग गरि सहमति हुन्छ। त्यसपछि विमानस्थल निर्माणको जिम्मा उक्त कम्पनीले पाउनेछ।
आयोजना बन्ने चार किल्ला तोकिसकेको सरकारले वातावरणीय प्रभाव मूल्यांकन पनि स्वीकृत गरेको छ। उक्त प्रतिवेदन अनुसार निर्धारित ८ हजार हेक्टर क्षेत्रफलमा २४ लाख रुख विरुवा रहेका छन्। त्यसमध्ये विमानस्थल आयोजना बनाउन आवस्यक २५ सय हेक्टर क्षेत्रफलमा रुख काट्नुपर्ने मन्त्रालयले निर्णय गरेको छ। सोही निर्णयअनुसार रुख कटान आदेशका लागि वन मन्त्रालयमा सिफारिस पठाएको छ।
मन्त्री अधिकारीले विमानस्थलको नियन्त्रीत क्षेत्रभित्र पूर्वाधार बनाउनुपर्ने २ हजार हेक्टर भन्दा कम क्षेत्रफलमा पर्ने रुख काटिने र त्यसमा बढीमा २ लाख ५० हजार हुने बताए।
‘हामीले उक्त आयोजनाका लागि रुख काट्दा वातावरणीय क्षति कम गर्नेतिर सोच्दै छौं ठुला रुखलाई काट्ने र सानालाई उखेलेर सार्ने प्रविधिको खोजीमा छौं’ उनले भने।