नेपालमा उद्योग प्रतिष्ठान क्षेत्रमा काम गर्नेहरुको संख्या ३४ लाख रहेको पाइएको छ। केन्द्रिय तथ्यांक विभागले आज सार्वजनिक गरेको आर्थिक गणानाको प्राररम्भिक नतिजाअनुसार देशका निजी क्षेत्रबाट संचालित २२ लाख कम्पनी, फर्ममा ३४ लाख ८ हजार ७४६ जनाले रोजगारी पाइरहेका छन्।
गएको जेठमा गरिएको गणनाबाट देशभर संचालित यस्ता प्रतिष्ठामा २० लाख ४४ हजार पुरुषले काम गरिरहेका छन् भने १३ लाख ६३ हजार महिला कार्यरत रहेका छन्। नेपालमा सरकारमा कानूनीरुपमा दर्ता भएर संचालन भइरहेका त्यस्ता प्रतिष्ठानलाईमात्र गणनामा समावेस गरिएको विभागका सहसचिव हेमराज रेग्मीले जानकारी दिए।
नेपाल सरकारमा दर्ता भएर कुनै पनि आर्थिक कारोबार गरिरहेका कम्पनी, फर्मलाई गणनामा दायरामा ल्याइएको थियो। एक महिनासम्म चलेको गणनाको यो प्ररारम्भिक आँकडा भएको रेग्मीले जानकारी दिए।
यसरी दर्ता भएका प्रतिष्ठानहरुमा सबैभन्दा बढी प्रदेश नम्बर ३ मा रहेका छन्। जसमा समग्रको ३० प्रतिशत रहेका छन्। त्यस्तै प्रदेश १ मा १८, २ मा १६ गण्डकीमा ११, ७ मा ७ र कर्णालीमा ५ प्रतिशत रहेका छन्।
कूल जनसंख्याको आधारमा रोजगारमा संलग्नको अनुपातमा प्रदेश १ मा देशको कूल जनसंख्याको १६ प्रतिशत रहेको छ। जहाँ १७ प्रतिशत पेसा व्यवसायमा रहेका छन्। त्यस्तै १ मा १२ प्रतिशत जनसंख्या रोजगार छ भने २० प्रतिशत कूल जसंख्या रहेको छ।
प्रदेशमा बसोबास गर्ने जनसंख्याको तुलनामा रोजगारमा संलग्नको अनुपात ३ नम्बरमा धेरै रहेको छ। विभागको गणनानुसार २१ प्रतिशत जनसंख्या बसोबास गर्ने यो प्रदेशमा ३४ प्रतिशत रोजगार छन्। त्यस्तै गण्डकीमा पनि ८.५ जनसंख्या रहेकोमा १० प्रतिशत रोजगार रहेका छन्।
प्रदेश पाँच र कर्णालीमा रोजगार भन्दा जनसंख्या २ प्रतिशत बढी छ भने प्रदेश ७ मा यस्तो अन्तर ३ प्रतिशतको रहेको छ।