धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको यति एयरलाइन्सको जहाज ११ घण्टापछि हटाइएको छ। शनिबार नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यतीकाे ‘जेट स्ट्रीम, ९ एनएचडब्लु विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो।
अगाडिको ल्यान्डिङि गियर भाचिएपछि जहाजलाई डोर्याएर धावनमार्गबाट हटाउन नसक्दा हिजो बेलुका साढे आठ बजेदेखि विमानस्थलका सबै उडान बन्द भएका थिए।
यसअघि टर्किस एयरको जहाज चिप्लिएको ठाउँमा नै उक्त जहाज चिप्लिएको थियो। जसलाई धावनमार्गबाट हटाउन नसक्दा विमानस्थल बन्द गर्नुपरेको थियो। हिजो बेलुकादेखि नै हटाउने प्रायास गरेपनि अहिले आएरमात्र सफल भएको विमानस्थलका कर्मचारीले जानकारी दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमका अनुसर विहान ८ बजे जहाजलाई धावनमार्गबाट हटाइएको छ।
जहाज हाटाएर धावनमार्ग सफा गर्ने काम भइरहेको र अब केहीबेरमा उडान तथा अवतरण सुरु हुने उनले जानकारी दिए।
‘हामीले जहाज हटाएका छौं अहिले धावनमार्ग सफा गर्ने काम भइरहेको केहीबेरमा उडान तथा अवतरण सुरु हुन्छ’ गौतमले सेतोपाटीसँग भने।
१२ घण्टापछि खुल्यो विमानस्थल
शनिबार साढे आठ बजे बन्द भएको देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले खुलेको छ। जहाज धावनमार्गबाट हटाएपछि विमानस्थलबाट उड्ने जहाजका बोर्डिङ पास सुरु भएको छ।
केही बेरमा उडान हुने महानिर्देशक गौतमले जानकारी दिए।