सरकारी खर्चको पद्धति हेरफेर गर्न आयोग गठन भएको छ। सरकारले गर्ने खर्चको पद्धति, प्रणली परिमार्जनको लागि सुझाव दिन मन्त्रिपरिषद्ले अर्थशास्त्री डा डिल्लीराज खनालको नेतृत्वमा आयोग गठन गरेको हो।
आज बसेको मन्त्रिपरिषद्को बैठकले खनालको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए।
संघीयतामा गइसकेपछि अहिलेको खर्च प्रणाली उपयुक्त नहुने भन्दै सरकारले नयाँ परिवेसमा खर्चको मोडालिटी, संरचना नयाँ बनाउनको लागि अध्ययन गरेर सुझाव दिन आयोग गठन गरेको हो।
संघीयतामा खर्चको आकार बढेको तर खर्चको सदुपयोग अहिलेकै प्रणालीबाट हुनेमा अर्थमन्त्री डा युवराज खतिवडाले पनि प्रश्न उठाउँदै आएका थिए। बजेटमाथिको छलफलको क्रममा समग्र खर्च प्रणालीमै हेरफेरको आवस्यकता रहेको उनले धारणा राखेका थिए।
यो आयोगले कहाँ कसरी, कस्तो खर्च गरेपछि खोजेको परिणाम आउछ भनेर सुझाव दिने छ। सोहीअनुसार सरकारले नीतिगत परिवर्तन गर्ने छ।