अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ। नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक अपि पावर कम्पनीबीच आइतबार विद्युत् खरिद सम्झौता भएको हो।
कम्पनीले धनुषाको ढल्केरबरमा १ मेगावाट र बाराको सिमरामा १ मेगावाटको सोलार प्यानल निर्माण गर्न लागेको छ। ती आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणले प्रतियुनिट ७.३० रुपैयाँमा २५ वर्षको लागि खरिद गर्नेगरी पिपिए भएको हो।
पिपिएमा प्राधिकरण योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेले हस्ताक्षर गरे।
उत्पादित विद्यूत परवानीपुरको ११ केभी परवानीपुर सबस्टेसनमा जोडिनेछ। ‘प्राधिकरणले १० महिना तोके पनि हामीले ७ महिनामै पूरा गर्ने लक्ष्य राखेका छौं,’ कम्पनीका प्रबन्ध निर्देशक न्यौपानेले भने ‘भदौ महिनाभित्र चिनियाँ कम्पनीले काम सुरु गर्नेछ।’
कम्पनीले यस अघि साउन २७ गते पर्साको परवानीपुरमा ८ मेगावाट र रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाटको गरी १२ मेगावाट क्षमताको दुई सौर्य परियोजनाको विद्युत खरिद सम्झौता प्राधिकरणसँग गरिसकेको छ।
अपिले रिडी पावर कम्पनी सहित प्राधिकरण सबस्टेसन नजिक सौर्य विद्युत जडान गर्न खुल्ला प्रतिस्पर्धाबाट १० स्थानको अनुमति लिएको छ।
सरकारले २०७२ फागुनमा घोषणा गरेको ९९ बुँदे ‘ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक’ सम्बन्धी कार्ययोजनामा प्रतियुनिट ९.६१ देखि ८.४५ रुपैयाँ ‘बेन्चमार्क’ तोकी पिपिए आह्वान गरेको थियो।
तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत विकास सम्बन्धी कार्यविधि २०७४’ लागू भएपछि सोलार पिपिएको दर प्रतियुनिट ७.३० रुपैयाँ कायम गरियो।
यसअघि अपि पावर कम्पनीले छोटो समयमा करिव १७ महिनाभित्र ८.५ मेगावट क्षमताको नौगड गाढ साना जलविद्युत आयोजना सम्पन्न गरी २०७२ साल भदौै महिनादेखि विद्युत प्रवाह गरिरहेको छ। त्यसैगरी कम्पनीले हाल निर्माण गरिरहेको सोही नदीमा ८ मेगावटको अपर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ।
कम्पनीले भविश्यमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने तयारी गरिरहेको छ । यसका लागि अपि पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणको ग्रिड संचालन विभागबीच साउन २५ गते सम्झौता पत्रमा हस्ताक्षर भैसकेको छ।