संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विकाससम्बन्धी पुरातन सोचाइका कारण मुलुकपछि परेको बताएका छन्।
शनिबार राजधानीमा आयोजित फाष्टफुड एशोसिएशन नेपालको छैठौ अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले विकास बारेको पुरातन सोचाइमा परिवर्तन ल्याउनुपर्ने बताए।
विकासका लागि मुलुकका सबै गतिविधिलाई चौबिसै घण्टा सञ्चालनमा ल्याइनुपर्ने उनको तर्क थियो। उनले उद्योग, कलकारखाना, होटल तथा महत्वपूर्ण सहरहरूलाई चौबिसै घण्टा सञ्चालनमा ल्याउन सके मुलुकले विकासको फड्को मार्ने बताए। आफूले नयाँ सोचका साथ पर्यटन क्षेत्रलाई विकासको गतिमा अघि बढाउने उद्घोष पनि उनले गरे।
मन्त्री अधिकारीले राजधानी काठमाडौंको मुख्य चुनौती सडक सुधार र वायु प्रदुषण रहेकाले वातावरणीय दृष्टिले स्वच्छ बनाउन सक्ने हो पर्यटन लगायतका व्यवसाय फस्टाउने बताए।
भूकम्पले क्षति पुगेका सम्पदा पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेकाले एक वर्षभित्र अधिकांश सम्पदा पुनर्निमाणको काम सम्पन्न हुने दाबी पनि उनले गरे।
उनले नेपालको फाष्टफुड संसारकै सर्वोत्कृष्ट फास्टफुड बनाउन तर्फ लागिपर्न पनि व्यवसायीलाई सुझाव दिए।