नेपालको सामाजिक विकासमा चिनियाँ सरकारले विभिन्न परियोजनामार्फत् सहयोग उपलब्ध गराउने भएको छ।
मुलुकको सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालिम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्नका लागि समाज कल्याण परिषद् र चिनियाँ एनजिओ नेटवर्क इन्टरनेशनल एक्सचेन्जबीच आइतबार साँझ समझदारी भएको परिषद्ले जनाएको छ ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र चीनका तर्फबाट अन्तर्राष्ट्रिय विभाग उपमन्त्री वाङ याजुनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। मन्त्री थापा समाज कल्याण परिषद्का अध्यक्ष समेत हुन्।
सो अवसरमा मन्त्री थापाले उक्त समझदारीबाट दुवै मुलुक आर्थिक र सामाजिक विकासका लागि सहकार्य र समन्वयका माध्यमबाट अगाडि बढ्ने बताउँदै दुई देशको सदियौं पुरानो सम्बन्धलाई जनस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन्। उपमन्त्री वाङले छिमेकी देश नेपालको विकास र नेपालीको प्रगतिमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे।
यसैबीच चीन सरकारले काठमाडौं महानगरपालिकालाई सडक सफा गर्न दुई वटा ब्रुमर (उपकरण) हस्तान्तरण गरेको परिषद्का कानूनी सल्लाहकार निशा बानियाँले जानकारी दिइन्।