काठमाडौँ महानगरपालिकाले पैदलयात्रीबाट निस्कने फोहर व्यवस्थापनका लागि सार्वजनिक स्थलमा फोहर राख्ने भाँडो (डस्टबिन) राख्ने भएको छ ।
आजदेखि वडा नं ७ बाट शुरु गरेको उक्त कार्यक्रम अन्य वडामा पनि सञ्चालन गर्ने कामपाको भनाइ छ ।
स्वच्छ वातावरण निर्माणबाट स्वस्थ्य शहरी जीवन अभियान शुरु गर्नका लागि कामपाले यस अभियान शुरु गरेको वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलको भनाइ रहेको छ ।
काठमाडौँ महानगरपालिका–७ मा रहेको सेन्टलरेन्स कलेजका अध्यक्ष केशवप्रसाद दंगालले वडाध्यक्ष शुद्धकुमार डंगोललाई आज डस्टबिन प्रदान गरेका हुन्। शैक्षिक संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत, सडकयात्रीले उत्पादन गर्ने फोहर संकलन प्रयोजनमा ल्याउन ७० लिटर क्षमताका ५० वटा डस्टबिन दिइएको हो ।
सो अवसरमा वडाध्यक्ष डंगोलले, सहभागितामूलक अभियानबाट गुणस्तरीय जीवन पद्धतिको विकास गर्ने कामलाई वडाले प्राथमिकता दिएको धारणा राखे।