सरकारले याे वर्षको बजेटमा भएका कार्यक्रम लागू गर्न आवस्यक पर्ने सबै कानूनी र प्रक्रियागत फ्रेमवर्क भदौभित्र तयार पार्ने भएको छ। १३ खर्ब १५ अर्ब रुपैयाँ खर्च गर्नेगरी ल्याएको बजेटमा आएका कार्यक्रम संचालन गर्ने र विनियोजित रकम समयमै खर्च गर्नेगरी अर्थमन्त्रालयले कार्ययोजनामार्फत् यस्तो व्यवस्था गर्न लागेको छ।
बजेट लगत्तै प्रधानमन्त्रीले सबै मन्त्रायका सचिवहरुलार्य बजेट कार्यान्वयनको ठोस कार्ययोजना पेस गर्न निर्देशन दिएका थिए। सोहीअनुसार अर्थ मन्त्रालयले कार्ययोजना ल्याएको हो।
बजेटमा आएका कतिपय नयाँ र पुरानै कार्यक्रमको लागि पनि आवस्यक पर्ने कार्यविधि, नियमावली, ऐनजस्ता सबै कानूनी र प्रक्रियागत फ्रेमवर्क सम्बन्धित मन्त्रालय वा निकायले २ महिनात्रि तयार पार्नुपर्नेगरी कार्ययोजना ल्याएको अर्थ मन्त्रालय अधिकारीहरुले जानकारी दिएका छन्।
समयमै बजेट खर्च नहुने, अन्तिममा आएर जथाभावी तरीकाले खर्च हुने विगतको प्रवृत्ति रोक्न मन्त्रालयले कार्ययोजना ल्याएर निश्चित फ्रेमवर्क बनाउने प्रयास गरिएको अर्थ मन्त्रालयका सहसचिव अर्जुन पोखरेलले जानकारी दिए।
‘कुन कार्यक्रम कसरी कहाँ कहिले सम्पन्न गर्ने त्यसको प्रक्रियागत आधार, सम्पन्न हुने समय जस्ता निर्धारित फ्रेमवर्कसहित कार्ययोजना आउन लागेको छ’ सहसचिव पोखरेलले सेतोपाटीसँग भने।
प्रधानमन्त्रीकै निर्देशनमा तयार पारिएको कार्ययोजना भएकोले यसको कार्यान्वयन हुने अर्थका अधिकारीहरुको भनाइ छ।
बजेटमा आएका प्रमाणपत्र धितोमा राखेर ऋण दिने, प्रधानमन्त्री रोजगारी कार्यक्रमजस्ता नयाँ कार्यक्रमलाई चासोका साथ हेरिएको छ। त्यस्तै विगतदेखि बजेटमा आउने गरेका तर कानूनी आधार नबन्दा कार्यान्वयन हुन नसकेका कार्यक्रम पनि यही अवधिमा कार्यान्वयन हुने अपेक्षा गरिएको छ।