आर्थिक वर्ष २०७४÷०७५ को लक्ष्यअनुसार सरकारले राजश्व संकलनको लक्ष्य नजिक पुगेको छ। आर्थिक वर्षको अन्तिम दिन सोमबार राति १० बजेसम्म लक्ष्यको नजिक पुगेको र १२ बजेसम्म पुरा हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ।
राजश्व प्रविष्ट गर्ने काम भइरहेकोले राति १२ बजेसम्म सहजै लक्ष्यअनुसार संकलन हुने मन्त्रालयका राजश्व सचिव शिशिर ढुंगानाले जानकारी दिए।
ढुंगानाका अनुसार राति १० बजेसम्म लक्ष्यको ९९.७७ प्रतिशत राजश्व संकलन भएको छ। सरकारले बजेटमा राजश्वबाट ७ खर्ब ३० अर्ब उठाउने लक्ष्य लिएको थियो। सरकाको राजश्व खातामा १० बजेसम्म ७ खर्ब २८ अर्ब रुपैयाँ जम्मा भएको छ। बाँकी ३ अर्ब रुपैयाँ २ घण्टामा सहजै जम्मा हुने अधिकारीहरुको विश्वास छ।
खर्च तर्फ भने सरकारले अर्ध वार्षिकी समिक्षाबाट गरेको अनुमानभन्दा बढी हुने भएको छ। आर्थिक वर्षको अन्तिम दिनको बेलुकासम्मको तथ्यांकअनुसार चालु खर्च संसोधित अनुमान नजिक पुगेको छ। अनुमानअनुसार विनियोजन बजेटको ९१ प्रतिशत हुनुपर्नेथियो। बेलुकासम्म ८८ प्रतिशत खर्च भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ।
त्यस्तै पुँजीगत खर्च तर्फ विनियोजन बजेटको ७० प्रतिशत खर्च हुने अनुमान गरिएपनि आज बेलुकासम्म ८० प्रतिशत पुगिसकेको छ। त्यस्तै वित्तीय व्यवस्थातर्फ पनि अनुमानअनुसार ७८ प्रतिशतभन्दा बढी खर्च भइसकेको छ।