मुलुकको आर्थिक विकास र समृद्धिका लागि उद्यमशीलता प्रोत्साहन गर्न सोहीअनुसारका सरकारी नीति र सुविधा ल्याउनुपर्ने यस क्षेत्रका विज्ञको जोड रहेको छ ।
सुशील कोइराला ममोरियल फाउण्डेसनद्वारा आज यहाँ आयोजित ‘नेपालमा उद्यमशीलता ः सामाजिक र सरकारी दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले उद्यमशीलता प्रवद्र्धन गर्न कानूनमा भएका अवरोध परिमार्जन गर्नुपर्ने र उद्यमशीलतालाई समाजमा उच्च प्रतिष्ठाका रुपमा स्थापित गर्नुपर्ने सुझाव दिएका हुन्।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री एवं फाउण्डेशनका अध्यक्ष डा शंशाक कोइरालाले राजनीति समाज परिवर्तनको बाहक भएकाले राजनीतिज्ञले पनि निश्चित समय पार्टीको काममा लागेर बाँकी समय उद्यमशीलतामा लाग्नुपर्ने सुझाव दिए।
कार्यक्रममा विशेष समूहगत छलफलमा भाग लिँदै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले नेपाली समाजमा व्यापार व्यवसायमा लागेका पूँजीवादी र दलाल वर्गलाई नकारात्मक रुपमा लिइने गरेको भन्दै यसमा समाजले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने सुझाव दिए।
पूर्वसचिव रामेश्वर खनालले उद्योग र व्यवसाय सञ्चालन गर्न मुलुकमा आवश्यक पूर्वाधारको कमी र वित्तमा सहज पहुँच हुन नसक्दा उद्यमशीलता अपेक्षाकृत रुपमा फस्टाउन नसकेको धारणा व्यक्त गरे।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सामान्य गल्ती हुँदासमेत व्यवसायीलाई थुन्न सक्ने ३६ वटा कानून विद्यमान रहेको उल्लेख गर्दै समाजमा रहेका व्यापारी र व्यवसायीलाई ठगका रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने सुझाव दिए।
कार्यक्रममा भारतको महाराष्ट्र इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) विश्वविद्यालय, व्यवस्थापन विभागका डीन प्रा डा सयाली गंकरले नेपालमा उद्यमशीलताका लागि अपार सम्भावना रहेको धारणा व्यक्त गर्दै यसमा रहेका आवश्यकतालाई निर्माण गर्न सक्नुपर्ने बताए।
फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अब ढिला गर्न नहुने भन्दै उद्यमशीलताका बारेमा युवा वर्गमा सचेतना जगाउन र उत्प्रेरित गर्न फाउण्डेशनले विभिन्न क्षेत्रका विज्ञसहितको बहस चलाएको जानकारी गराए।