तोकिएको समयभन्दा करिब तीन वर्ष ढिला गरेर ढल्केबर सवस्टेशन निर्माण सम्पन्न भएको छ।
नेपाल विद्युत् प्राधिकरणले सो सवस्टेशनमा जडान गरिएको ट्रान्सफर्मर चार्ज सम्पन्न भएको जानकारी दिएको छ। सो सवस्टेशनलाई नेपालको प्रसारण हबका रूपमा समेत लिइने गरिन्छ।
चिनियाँ ठेकेदार कम्पनी सिसिपिजीबीच २९ जेठ २०७१ मा सम्झौता भएको थियो। सम्झौताअनुसार १५ महिनाभित्र सम्पन्न हुनुपर्ने थियो। तर तोकिएको समयभन्दा तीन वर्ष ढिला गरी सवस्टेशन निर्माण सम्पन्न भएको छ।
तर ठेकेदारले तोकिएअनुसारको काम नगरेपछि प्राधिकरणले सन् २०१७ को २२ सेप्टेम्बरमा ठेक्का सम्झौता रद्द गरेको थियो। सो सवस्टेशन निर्माणका लागि सुरुमा चिनियाँ ठेकेदार सिसिपिजीले लिएको थियो।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले १६० एमभिए क्षमताको दुई वटा ट्रान्सफर्मर चार्ज भएको बताए।
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको सवस्टेशनमा २२०/१३२ केभी क्षमताको सवस्टेशनको एउटा ट्रान्सफर्मर शनिबार साँझ र अर्को आज अपराह्न परीक्षण गरिएको हो।
ठेक्का तोडिएपछि सो सवस्टेशनको काम अन्योलमा फसेको थियो। नेपालका अधिकांश सवस्टेशनको क्षमता १३२ केभीमात्रै रहेको अवस्थामा आज चार्ज भएको ढल्केबर सवस्टेशनको क्षमता २२० केभी रहेको छ।
आगामी वर्ष सोही सवस्टेशनको क्षमता बढाएर ४०० केभी पुर्याइने प्रवक्ता अधिकारीको भनाइ छ।
तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले २०७३ साल भदौ ४ गते चिनियाँ ठेकेदार सिसिपिजीलाई चार महिनाभित्र सवस्टेशनको निर्माण सक्न निर्देशन दिएका थिए।
तर मन्त्री शर्माको निर्देशनअनुसार काम हुन सकेन । पटक पटक म्याद थप गरियो । त्यसपछि ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका तत्कालीन ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले पनि ठेकेदार कम्पनीलाई राष्ट्रिय आवश्यकताको सम्मान गर्दै समयमा नै काम सम्पन्न गर्न २०७४ साउन २६ गते निर्देशन दिए।
तर, निर्माण प्रक्रियाले गति लिन सकेन। बाध्य भएर प्राधिकरणले गत साल असोज ६ गते ठेक्का सम्झौता रद्द गर्यो ।
चिनियाँ ठेकेदारसँग ठेक्का सम्झौता तोडिँदा सवस्टेशनको काम ९० प्रतिशत पूरा भएको थियो।
तोकिएअनुसारका काम सम्पन्न गर्ने लक्ष्यसहित प्राधिकरणले भारतीय ठेकेदार टेल्मसलाई जिम्मा दियो । पावर ट्रान्सफर्मर सप्लाइ र जडानका लागि पहिले नै अलग ठेक्का पाएको कम्पनी एम्कोले जिम्मा लिएको एक वर्षको अवधिमा नै सवस्टेशन चार्ज भएको छ, प्रवक्ता अधिकारीले जानकारी दिए।
सवस्टेशन २२० केभीमा चार्ज भएपछि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट २६० मेगावाट बढी विद्युत् आयात तथा निर्यात गर्न सकिने प्राधिकरणको भनाइ छ ।
आगामी वर्ष सवस्टेशनको क्षमता बढेर ४०० केभी पुग्ने र त्यसबाट एक हजार मेगावाट क्षमताबराबरको विद्युत् आदानप्रदान गर्न सकिनेछ ।
हाल १३२ केभी क्षमताबाट १६० मेगावाटबराबरको विद्युत् आयात भइरहेको छ । सोही सवस्टेशन भएर आउने अन्तरदेशीय प्रसारण लाइनको विद्युत् नेपालका लागि सस्तो रहेको छ ।
ढल्केबरमा २२० केभी सवस्टेशन सञ्चालनमा आएपछि अन्य नाकाबाट आयात हुने बिजुली कटौती गरी सोही प्रसारणलाइनबाट आपूर्तिको तयारी पनि गरिएको छ ।
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनका लागि प्राधिकरणले वार्षिक रु एक अर्बभन्दा बढी रकम उपलब्ध गराउँदै आएको छ ।