कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले बुधबार कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गरेका छन्।
मन्त्री खनालले बुधबार कार्यालय समय सुरु हुनेबित्तिकै कलंकीस्थित मालपोत कार्यालयको एक्कासी अनुगमन गरेका हुन्।
राज्यमन्त्री रामकुमारी चौधरीसहित मालपोत कार्यालयमा पुगेका उनले सेवाग्राहीलाई सास्ती नहुने गरी कायालयको सेवालाई सहज बनाउन मातपोत कार्यालयका प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीलाई निर्देशन दिए।
उनले मालपोत कार्यालय भ्रष्टाचारको अखडा रहेको सेवाग्राहीले गुनासो गरेपछि आफूले अनुगमन सुरु गर्नु परेको पनि स्पष्ट पारे। त्यस अवसरमा प्रमुख मालपोत अधिकृत अधिकारीले सेवाग्राहीको सेवा सहज बनाउन आवश्यक पूर्वाधारको व्यवस्था गरिदिन मन्त्री खनालसँग आग्रह गरेका थिए। अनलाइन सेवा सञ्चालन भए पनि इन्टरनेटका कारण त्यसमा समस्या आउने गरेको पनि कर्मचारीले मन्त्री खनालसँग गुनासो गरेका थिए ।
मन्त्री खनालले सेवाग्राहीले बिचौलियाका कारण दुःख पाइरहेको उल्लेख गर्दै त्यसको सहज व्यवस्थापन गर्न पनि मालपोतका कर्मचारीहरूलाई सचेत गराए।
अनुगमनका क्रममा उनले सेवाग्राहीहरूसँग मालपोतको सुधारका लागि सुझाव पनि लिएका थिए।
यसअघि मन्त्री खनालले कालिमाटी फलफूल तथा तरकारी बजार र बालाजु औद्योगिक क्षेत्रमा रहेको तीन वटा दूध उत्पादन कम्पनीहरूको पनि अनुगमन गरिसकेका छन्।