भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई कुनै किसिमको धरपकड नगरिने बताएका छन्।
भौतिक पूर्वाधार मन्त्री अध्यक्ष हुने निर्माण व्यवसाय विकास परिषद्को बैठकमा बोल्दै आइतबार मन्त्री महासेठले व्यवसायीलाई विगतमा जस्तो व्यवहार नगरिने जानकारी दिए।
निर्माण कार्य ढिलो हुनुमा व्यवसायीको मात्र दोष नभएको भन्दै मन्त्री महासेठले अब व्यवसायीलाई धरपकड नगरिने बताएका हुन्।
‘कतै रुख काटेको हुँदैन, कतै बिजुलीको पोल सारेको हुँदैन, यस्ता कारणले पनि निर्माण कार्य ढिलो भएका छन्, त्यसैले व्यवसायीलाई मात्र दोष दिन मिल्दैन,’ मन्त्री महासेठले भने।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले कुनै पनि निर्माण व्यवसायीलाई धरपकड भए तुरुन्त आफूलाई खबर गर्न आग्रह गरे।
कहीँ कतै निर्माण कार्यमा कमजोरी देखिए त्यसमा व्यवसायी मात्र नभएर प्राविधिक पनि दोषी ठहरिने मन्त्री महासेठको भनाइ थियो। निर्माण कार्यलाई छिटो छरितो बनाउन साइट क्लियरेन्स नगरी टेण्डर आह्वान नगर्न आफूले सडक विभागलाई निर्देशन दिइसकेको उनले बताए।
उनले डिजाइनको काम पनि अब नेपाल सरकार आफैंले गर्ने जानकारी दिए। निर्माण व्यवसायी र सरकारको सम्बन्ध नङ–मासुको जस्तै हुनुपर्ने भन्दै मन्त्री महासेठले मुलुक निर्माणका लागि सबैले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए।
‘ए क्लासका कन्ट्रयाक्टर देश विकासका लागि मेरुदण्ड हुन्, सरकार सबै निर्माण व्यवसायीलाई स्थापित गर्न चाहन्छ,’ मन्त्री महासेठले भने,‘तर गलत काम गर्ने व्यवसायी हुन् या प्राविधिक, कसैलाई छाडिँदैन।’
यसअघि गृहमन्त्री रामबहादुर थापाले समयमा काम नगर्ने ठेकेदारको सूची बनाउन ७७ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका थिए।
केही प्रशासन कार्यालयले समयमा काम नसकेको भन्दै ठेकेदारलाई केरकार गरेको थियो।