नेपाल विद्युत प्राधिकरणको प्रणालीमा रहेको कुल विद्युतमध्ये २० प्रतिशत चुहावट भइ खेर जाने गरेको पाइएको छ।
प्राधिकरणका अनुसार चैतसम्म २० दशमलव ०६ प्रतिशत विद्युत चुहावट छ। आर्थिक वर्ष २०७३/७४ पहिलो महिनामा विद्युत चुहावट २२. ९ प्रतिशत रहेको थियो। प्राधिकरणले तीन वर्षभित्र प्रणालीमा रहेको सो चुहावटको दरलाई १५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ।
चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने, महसुल बक्यौता असुलीमा कडाई गर्ने कामलाई अभियानका रुपमा चलाइरहेको दावी गरेको छ। त्यस्तै प्राविधिक रुपमा हुने चुहावट रोक्न ट्रान्सफर्मर तथा विचरण लाइनको सुदृढीकरण लगायतका कामलाई तीव्र गतिमा अघि बढाइएको प्राधिकरणको भनाइ छ।
गृह मन्त्रालयमा आज विद्युत चुहावट नियन्त्रण तथा निर्माणाधीन आयोजनाका विषयमा गृहमन्त्रीसँग सरोकारवालाहरुले छलफल गरेका थिए।
छलफलमा जलस्रोतमन्त्री वर्षमान पुन, गृहसचिव प्रेमकुमार राई, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द खनाल लगायतको उपस्थिति थियो।
विद्युत चोरी नियन्त्रणका लागि प्रत्येक जिल्लाका प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयलाई समन्वय गराई संयुक्त रुपमा कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने निर्णय भएको छ।
जग्गा अधिग्रहणका विवाद मिलाउने, पोलका समस्या हटाउने लगायतका काममा सम्बद्ध निकायको समन्वय गराएर अघि बढ्ने सहमति भएको छ।