पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा रामशरण महतले वर्तमान सरकारले ल्याएको आगामी वर्षको बजेट सिमाभित्रै भएपनि लक्ष्य र कार्यक्रमबीच तालमेल नमिलेको बताएका छन्।
भोट माग्नलाई लेखिएको घोषणापत्र र जनतालाई देखाइएको वायुपंखी सपनाअनुसार बजेट नआएकोले यसबारेमा चर्चा भएको राजनधानीमा आयोजित कार्यक्रममा उनले बताए।
चुनावमा भोट माग्नकै लागि लेखिएको घोषणापत्र जसरी लेखेपनि बजेट बनाउँदा स्रोत, साधन, अनुशासनमा बस्नुपर्ने भएकोले भाषणअनुसार बजेट नआउनु स्वभाविक भएको उनको भनाइ छ।
‘लक्ष्यहरु बायुपंखी खालका राखियो नीति कार्यक्रममा पनि बजेटमा पनि २ वर्षमै पर्यटक २० लाख, एक वर्षमै ५ लाख रोजगारी, पाँच वर्षमै आय दोब्बर जस्ता पपुलर घोषणा भए’ उनले भने,‘तर बजेट बनाउँदा सिमा भित्र बसेर गर्नुपर्छ, चुनावी घोषणपत्र बनाएजस्तो होइन कतिपय कतिपय कार्यक्रमलाई निरन्तरता दिनुपर्छ, उसले विग जम्प गर्नसक्दैन।’
बजेटमा अधिकांस पूर्वाधार पुरानै आयोजनाले निरन्तरता पाएकोले प्राथमिकतामा आपत्ति जनाउनुपर्ने अवस्था नरहेको बताए।
तर बजेटले लिएका लक्ष्य र कार्यक्रमको भने तारतम्य नमिलेको उनको भनाइ छ।
‘यदि यी लक्ष्य, कार्यक्रम राख्नलाईमात्र राखिएको हो भने भन्नु केही पनि छैन यदि साँच्चिकै हो भने भ्रमित पार्ने खालका छन’ उनले भने।
८ प्रतिशत बृद्धि गर्नलाई सेवामा १२, कृषिमा ४, उद्योगमा ८ प्रतिशतले बृद्धि हुने बजेटको अनुमानप्रति महतले प्रश्न उठाएका छन्।
‘हाम्रो समस्या उद्योग हो, सेवा आफैमा विस्तार भएको छ भने उत्पादन क्षेत्र घटिरहेको छ, यहाँ उद्योगलाई बढाउनुपर्छ यसको लागि लगानी चाहिन्छ, पुँजीगत बढाउनुपर्छ, हामीले पुँजीगत खर्च बढाएर, उत्पादकत्व बढाउनेतिर जानुपर्छ अनि बल्ल दिगो बृद्धि सम्भव हुन्छ।’
सरकार आफैले लगानीको इफिसेन्सी बढाउनुपर्ने र अर्कोतिर निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने भएपनि बजेटले निजी क्षेत्रलाई उत्प्ररेणा दिने सम्भावना नभएको बताए।
नेपाल विकासिल मुलुकहरुमा बढी कर तिर्ने मुलुकमा पर्ने भएकोले यस्तोमा उच्च लगानी कसरी आउला भन्नेमा आशंका उनको छ।
‘हामी यसअघि नै कूल ग्राहस्थको २४ प्रतिशत कर उठाउने मुलुक हौ दक्षिण दक्षिण एसियामा त कोही पनि छैन हामी संसरकै उच्च कर उठाउने देश हौ’ उनले भने,‘संघीय बजेटबाटै ३० प्रतिशतभन्दा कर उठाउने भनिएको छ। स्थानीय र प्रदेशले उठाउँदा ३५ प्रतिशत पुग्छ। जिडीपीको यत्रो कर उठाउने देश उच्च विकसितमात्र होलान्। जुन मुलुकमा कर यति धेरै छ। जहाँ धेरै कर लाग्छ त्यहाँ कसरी लगानी अकार्षण हुन्छ?’
सरकारले सानो आकारको बजेट ल्यायो भनेर दुःख मान्नुपर्ने कारण नभएको उनको भनाइ छ। अहिलेको बजेट कूल ग्राहस्थ उत्पादनको ५० प्रतिशतभन्दा माथि भएको उनको उले बताए।
‘प्रदेश र स्थानीय तहको आउनै बाँकी छ। केन्द्रबाट गएको बजेटलाई छाड्ने हो भनेपनि १६ सय अर्बजति बजेट पुग्छ जुन जिडीपीको ५० प्रतिशतभन्दा बढी हो। यो धेरै ठुलो हो। ४५ प्रतिशतभन्दा माथि जान हुँदैन। ठुलो बजेट आएन भनेर गुनासो गर्ने ठाउँ छैन’ उनले भने।