तेल, दाल तथा गेडागुडीको मूल्य बढ्ने भएको छ। तोरीको तेलमा ४० प्रतिशत मु.अ कर छुट सुविधा दिइँदै आएकोमा यस बजेटबाट सो सुविधा हटेसँगै तेलको मूल्य बढ्ने भएको हो।
त्यस्तै तोरीको गेडा आयातमा समेत भन्सार महसुल बढाइएकाले अब तेलको मूल्य बढ्ने नेपाल चामल, तेल, दाल उद्योग संघले जनाएको छ।
संघका अनुसार प्रतिलिटर तोरीको तेलमा करिब १५ रुपैयाँ मूल्य बढ्न जानेछ। तोरी र सबै तेलमा मुलुक भारतनिर्भर रहेको जनाउँदै संघले अनाधिकृत रुपमा तोरीको तेल भित्रिन सक्ने संभावना औंल्याएको छ।
त्यस्तै दाल तथा गेडागुडीमा भन्सार महसुल ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याइएको छ। यसले मूल्यमा पनि असर पर्ने संघको भनाइ छ।
तयारी दाल र कच्चा पदार्थमा दुई तहको कर निर्धारण हुनुपर्नेमा संघले जोड दिएको छ। तयारी दाल र कच्चा पदार्थमा समान दर भएका कारण तयारी दाल आयात गर्ने परिपाटीले प्रोत्साहन पाउने संघको भनाइ छ।