तपाईँलाई मानसिक तनाव छ? यसरी व्यवस्थापन गर्नुहोस्


मानसिक तनावका थुप्रै कारणहरू छन्। हाम्रो जीवनलाई, हाम्रो अवस्थालाई कसरी लिन्छौ। त्यो चिजसँग हाम्रो तनाव निर्धारित हुन्छ। कुनै व्यक्तिलाई एउटा घट्नाले तनाव दिन सक्छ भने अर्कोलाई नदिन सक्छ। जस्तै भूकम्पका कारण कति व्यक्तिलाई तनाव भयो कतिलाई भएन।

मुख्य कुरा कुनै पनि घटन्लाई हामी कसरी हेर्छो भन्ने हो। मेरो आफ्नो क्षमता कति छ? कुनै पनि चिजलाई कसरी सम्हाल्नुहुन्छ? जब आफ्नो क्षमताले आफ्ना समस्यालाई समाधान गर्न सकिदैन तबसम्म तनाव भइरहन्छ।

मानसिक तनाव भए के हुन्छ?

मानसिक तनावका कारण मानिसलाई थुप्रै रोगहरू लाग्न सक्छ। डिप्रेसन, निराशापन, एन्जाइटिक डिसअर्डर, छटपटीको समस्या, त्यस्तै गरेर अनिन्द्राको समस्या हुन्छ। तनावमा मानिसहरूलेले रक्सी, गाजा, बिभिन्न खालका ट्याब्लेटसमेत प्रयोग गर्छन्। धेरै तनाव भयो भने कहिलेकाही रक्सी खानेले पनि धेरै खान्छ। जस्तै भूकम्पका कारणले आफ्नो घर भत्कियो। अब बनाउने उपाए छैन त्यसले गर्दा कतिपए मानिसलाई तनाव भइरहेको छ। त्यस्तै पागलपनको समस्या पनि तनावकै कारण हुन्छ। टाउको दुख्ने समस्या अर्को समस्या हो। अलिकति तनाव भयो टाउको दुखिहाल्ने समस्या पनि हुन्छ कतिपएलाई।

टाउको गह्रौ भएजस्तो, भारी भएजस्तो, तातो भएजस्तो महसुस हुन्छ।

दिक्क लाग्ने नरमाइलो लाग्ने, निराश हुने छटपटी हुने, अत्यास लाग्ने ढुकढुकी बढ्ने हुन्छ। कतिपए अवस्थामा मान्छेलाई मुटुकै समस्या भयोकि मलाई भन्ने पनि हुन्छ। डर लाग्ने, पेट पोलेको जस्तो हुने हुन्छ। कतिपएलाई ‘स्ट्रेस’ को कारणले ग्याष्ट्रिकको समस्यासमेत हुन्छ।

ग्याष्ट्रिकको दबाइ खाएको छ, तर पेटको समस्या समाधान भएको छैन। दिसा कहिले ढिलो हुने कहिले चाडो हुने भएको छ। हातखुट्टा झमझमाउने, पोल्ने, कहिले यता दुखे जस्तो कहिले उता दुखेजस्तो लाग्ने हुन्छ। यस्तो बेलामा जचाउन गयो रिपोर्टमा केही पनि आउदैन। यो सबै तनावका कारणले हुन्छ।

शंका लाग्ने, मलाई केही भयोकि भन्ने खालका महसुस हुने हुन्छ । रक्सी चुरोट गाँजा लगायतका कुलतमा फस्ने पनि हुन्छ।

मानसिक तनावबाट बच्ने उपाय के हो ?

मानसिक तनावबाट बच्न दुई वटा उपाय छन्। एउटा यसबाट कसरी जोगिने र अर्को यसको उपचार कसरी गर्ने भन्ने हो। सबैभन्दा पहिला आफ्नो जीवनलाई व्यवस्थित गर्नुपर्‍यो । जसरी शरीर स्वस्थ्य राख्न हामी व्यायाम गर्छो त्यसैगरी मनको स्वस्थताका लागि पनि काम गर्नुपर्‍यो। आफ्नो विचारलाई कसरी स्वस्थ्य राख्ने? विचार कतातिर गइरहेको छ। म आज कस्तो छु? मेरो सोचाई कस्तो छ? म स्वस्थ्य छुकि छैन? आज म खुसी छुकि छैन? अलि बढी तनावमा पो छुकि यस्ता कुरा बेलाबेलमा जाच्नुपर्छ।

पारिवारिक तनाव होकि, व्यवसायिक तनाव होकी, जागीरको तनाव होकी यसलाई पत्ता लगाउनुपर्छ। कसैले मलाई आलोचना गर्‍यो मैले माफी नदिएको होकी जस्ता कुरालाई पनि ध्यान दिनुपर्छ।

त्यो बाहेक निन्द्राको व्यवस्थापन, खानाको व्यवस्थापन गर्न जरूरी छ। बेलाबेलामा मनोरन्जन आवश्यक छ।

आफूले आफूलाई स्वस्थ्य र बलियो बनाउन मैले कुनै रमाइलो र खुसी हुने काम गरेको छुकि छैन भनेर आफूले आफैलाई जाच्नुपर्छ। आफ्नो सबैभन्दा ठूलो डाक्टर आफै हो। त्यसैले मानिसले आफ्नो तनावको कारण पत्ता लगाउनुपर्छ।

आधुनिकताले गर्दा व्यक्तीवादी चिन्तन हावी भएको छ। दिनरात काम गर्ने गर्नाले एक दिन पनि मानिसलाई फुर्सद छैन। राति ‘डिउटी’ गर्नेहरुलाई अझै बढी मानसिक तनावको समस्या हुन्छ।

बेलाबेलामा साथीभाइ, आफन्तसँग घुम्ने रमाइलो गर्ने गर्नुपर्छ। बिदाको दिनमा आफ्नो कामको तनाव लिनु हुँदैन। आफ्नो विचारलाई बेलाबेलामा जाँच गर्नुपर्छ। यस्ता कुरालाई ध्यान दिने हो भने हामी एन्जाइटी, डिप्रेसनलगायतका समस्याबाट सजिलै बच्न सक्छौ।

तनाव बढी भएर मानसिक रोग पनि लाग्न सक्छ

यस्तो रोग नै लाग्यो भने मानसिक रोग बिशेषज्ञहरुसँग सल्लाह लिनुपर्छ। मनोवैज्ञानिकहरूसँग समेत छलफल गर्नुपर्छ। मैले चाहँदा चाहँदै पनि तनाव नियन्त्रण गर्न सकिनँ भन्ने भयो भने त्यतिबेला विशेषज्ञको सल्लाह लिनुपर्छ। सुरुमा ‘काउन्सिलङ’ बाट हेर्ने त्यति गर्दा पनि भएन भने औषधिको साहरा लिनुपर्छ।

सुरूवाती चरणमा बिरामी आयो भने आठ, दस दिन औषधी खाएमा ठीक हुन्छ। अलि धेरै समयमदेखि तनाव दिएको छ भने एक महिनादेखि ६ महिनासम्म पनि खानुपर्ने हुन्छ। कतिपए अवस्थामा लामो समयसम्म पनि औषधी लिनुपर्ने हुन्छ। तर, सामान्यत: एन्जाइटी र डिप्रेशनको लागि ६ महिनादेखि नौ महिनासम्म औषधि खाएमा निको हुन्छ। सबै खाले मानसिक रोगको औषधीबाट निको हुन्छ।

मानसिक समस्यालाई हेर्ने हेराई गलत

नेपालमा मानसिक समस्या भन्नसाथ हामीले एउटै कुरा बुझ्ने गर्छो पागलपन। जबसम्म व्यक्ति र समाज यो समस्याबाट उठ्न सक्दैन तबसम्म यो समस्या रहिरहन्छ। बिरामी पनि पीडित भइरहन्छ र समाजले पनि कतै पीडाबोध गरेको हुन्छ। सबैभन्दा पहिला मानसिक समस्या भनेको पागलपनको मात्रै समस्या होइन भनेर बुझ्नुपर्छ। रसायनको गडबडीले गर्दा मानसिक समस्या  हुन्छ। यसलाई सामान्य रुपमा लिन सक्नुपर्छ। मानसिक समस्या सामान्यदेखि डरलाग्दा खालका पनि हुन सक्छन्। डरलाग्दो मानसिक समस्या एक प्रतिशत, दुई प्रतिशत मात्रै होला। धेरै खालका मानसिक समस्याहरू घरमै बसेर समाधान गर्न सकिन्छ।

मानसिक समस्यालाई लुकाउन हुँदैन

मानसिक समस्यालाई लुकाउने दबाउने चलन छ। डाक्टरकोमा गयो भने पनि यो त मानसिक डाक्टर भेट्न गयो यसलाई के भयो भनेर हेर्ने चलन छ। त्यो बिल्कुलै गलत काम हो । मानसिक डाक्टरलाई समेत यो आफैं पागल भयोकि भन्ने सम्मको आशंका गर्ने गरिन्छ ।

यो रोग होइन यो त मान्छे कमजोर भएर हो। डिप्रेशन कसरी रोग हुन सक्छ यो आफैं ठीक हुन्छ भनेर परिवारले भन्दै जाँदा बिरामीले आत्महत्या सम्म गर्न सक्छ। यसलाई सुरूमा नै ध्यान दिनपर्छ। कहिलेसम्म यसलाई लुकाएर राख्ने? समस्या परिसकेपछि मात्रै सचेतता अपनाउने हाम्रो परम्परालाई बदल्नुपर्छ। यो सँगै बिरामीले पनि मैले डाक्टरको सहयोग लिनुपर्छ लिए भने मात्रै मेरो समस्या ठीक हुन्छ भन्ने सोच्न जरुरी छ।

म समाजको कुरा सुन्दिनँ, म अरूको कुरा सुन्दीनँ मलाई समस्या छ। म डाक्टरसँग सल्लाह लिन जान्छु भनेर बिरामीले पनि हिम्मत गर्नुपर्छ।

कतिलाई छ मानसिक रोग?

यो रोगीको संख्या यतिनै छ भनेर भन्न त सकिदैन। तर, विश्वमा बीसदेखि पच्चीस प्रतिशतलाई कुनै न कुनै खालको मानसिक समस्या रहेको हुनसक्ने बिभिन्न अनुसन्धानले देखाएको छ। तर, नेपालमा यति नै छ भनेर कुनै पनि खालको डाटा अहिलेसम्म निस्किएको छैन र यसको अनुशन्धान पनि भएको छैन। तर, यी सबै समस्याका बिरामी बिशेषज्ञसँग सल्लाह लिन आइपुगेका हुदैनन्। नेपालमा जस्तै विश्वभर नै यसलाई लुकाउने चलन छ। जुन गलत हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.