किन हुन्छ डिप्रेशन? के हो यसको उपचार?

किन हुन्छ डिप्रेशन? के हो यसको उपचार?


डिप्रेसन अर्थात् दिग्दारी रोगले यतिवेला नेपालमा मात्रै होइन, विश्वभर नै आफ्नो प्रभाव बढाउँदै गएको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिसलाई डिप्रेसन भएको जनाएको छ।

डिप्रेसन कम कडा खालको मानसिक रोग हो। अर्को शब्दमा दिग्दारी रोग हो। सधैँ दिग्दार देखिने अर्थात् निराश देखिने रोग हो।

अवस्था कस्तो खालको आएको छ दैनिक जीवनमा त्यसको आधारमा बिभिन्न अवस्थाबाट हाम्रो मन गुज्रिन्छ। तर, सामान्य अवस्थामा स्वास्थ्य मानिसमा कुनै फरक अवस्थामा मन यदी पुगेको छ भने लामो समयसम्म एउटै मनको अवस्थामा हामी कहिल्यै पनि बस्दैनौ। यदि केही कारणले कोही दुःखी भएको छ भने केही समयपछि सामान्य अवस्थामा मन फर्किन्छ। मन आत्तिएको छ भने एकछिन मन आत्तिन्छ मन आत्तिएको कारण हटिसकेपछि केही समय बितेपछि आत्तिने समस्या आफैं ठिक हुन्छ। यो भनेको समान्य अवस्था हो।

हाम्रो मन मस्तिष्कले हामीलाई सामान्य तरीकाले चलाइरहेको हुन्छ। तर कहिले काही केही विशेष कारणले गर्दा मन यदि दुःखी भयो भने त्यही दुःखको अवस्था लामो समयसम्म रहिरहनुलाई हामीले डिप्रेशन भन्छौ।

यदी मन दुःखी भयो उदास भयो भने केही समय फेरि त्यो मन फर्कीएर सामान्य अवस्थामा जानुपर्ने तर सामान्य अवस्थामा जादैन। दुई हप्तासम्म मन लगातार दुःखी र उदास भइरह्यो अरु लक्ष्यणहरु पनि आयो भने त्यसलाई डिप्रेशन भनिन्छ।

डिप्रेशन किन हुन्छ ?

डिप्रेसन के कारणले हुन्छ भन्ने एउटै परिभाषा छैन। विभिन्न व्यक्तिलाई विभिन्न कारणले हुन सक्छ। तर, शरीरभित्रको रसायनमा कमी हुनासाथ त्यसले डिप्रेसन ल्याउँछ। मस्तिष्कमा पाइने विभिन्न रसायनहरू सेरोटोनिन, इपिनैफरिन, नौरडपिनैफरिन तथा डोपामिनको कमीले गर्दा पनि यो अवस्था आउन सक्छ। शरीरमा पाइने विभिन्न प्रकारका हार्मोनले समेत यसमा असर पारेको हुन्छ।

डिप्रेशन यही कारणले हुन्छ भनेर किटान गर्न त सकिदैन। तर यसका बिभिन्न कारणहरु हुन्छ।

पहिलो कारण बंशाणुगत हो। यदी परिवारको बा, आमा, हजुरबा, हजुरआमा अथवा यो भन्दा पनि अघिकोपुस्तालाई कुनै बेला डिप्रेशन भएको थियो भने डिप्रेशन हुनसक्छ।

तनाव र जीवनमा घटेका केही घटनाको कारणले पनि डिप्रेशन हुन्छ।

केही रसायनीक परिवर्तनहरुको असन्तुलनको कारणले डिप्रेशन हुन्छ।

कुनै पनि घटेका घट्ना दुर्घटना अथवा तनावको स्थितिलाई झेल्न सकियो भने डिप्रेशन हुँदैन तर त्यो तनावपूर्ण अवस्थालाई मानसिक रुपले झेल्न सकिएन भने डिप्रेशन उत्पन्न हुन्छ।

डिप्रेशनका लक्षणहरू      

डिप्रेशनका मुख्य तीनवटा लक्ष्यणहरु हुन्छन्।

उदासीनता

इच्छाशक्तीको अभाव

शारीरिक कमजोरी

यो तीनवटा लक्ष्यणहरु कुनै शारीरिक रोगहरुले गर्दा भएको छैन भने त्यो डिप्रेशनको अवस्था हो।

यसका अन्य लक्ष्यणहरु पनि छन्।

ध्यानको कमी

आत्मबलको कम्जोरी

हिनताबोध

पश्चाताप हुने , बिना कारणले सानो–सानो कुरामा पनि पश्चताप हुने हुन्छ। निन्द्रा नहुने, खाना नरुच्ने, बोल्न मन नलाग्ने, मन खुसी नहुने, पहिला आफूलाई जे कुरामा खुसी र आनन्द लाग्थ्यो त्यो नहुने, टाउको दुख्ने, मुटु काम्ने, एक्लै बसेर रुन मन लाग्ने

लापरबाही गर्‍यो भने के हुन्छ ?

डिप्रेशन भइसकेपछि यसलाई उपचार नगरी छोड्यो भने ६ महिनादेखि १३ महिनासम्म आफैं ठीक हुन्छ। तर, उपचार नगरी बस्यो भने लक्षण बढ्दै–बढ्दै जान्छ। डिप्रेशनको रोगी यस्तो बिन्दुमा पुग्छ उसले हरेस खान बाहेक केही काम गर्न नसक्ने हुन्छ।

आत्महत्या गर्ने सोचाइ आउन सक्छ। आफ्नै ज्यान खतरामा पर्न सक्छ। दैनिक जिवनमा धेरै ठूलो असर पर्नसक्छ। सामाजिक, आर्थिक पारिवारिक र व्यवसायीक जीवनमा असर पर्छ। त्यो असर पर्‍यो भने व्यक्तीलाई घाटा हुन्छ। त्यही कारणले गर्दा यो रोगको समयमा उपचार गर्नु एकदमै जरूरी छ।

उपचार

समयमै पहिचान भई उपचार गर्न सकेको खण्डमा यो रोग छिटै निको हुन्छ। हामीकहाँ भ्रम छ, डिप्रेसन भयो भने जीवनभर औषधि खानुपर्छ, त्यो गलत हो। केही समय औषधि खाएपछि यो रोग पूर्ण रूपमा नियन्त्रणमा आउन सक्छ। औषधि लिइरहनुपर्दैन। तर, सही ठाउँमा सही उपचार हुनुपर्छ। यसको दुई पद्धतिबाट उपचार हुन्छ, एउटा औषधिद्वारा उपचार गरिने पद्धति, अर्को परामर्श (साइको थेरापी) पद्धति।

डिप्रेशन हुन्छ भन्ने धेरैलाई  थाहा छैन। धेरैलाई लाग्न सक्छ यस्तो पनि रोग हुन्छ।यस्तो खालको चेतना र जागरुपता छैन। सबैभन्दा पहिला त डिप्रेशनलाई चिन्न सक्नुपर्छ।आफैलाई भएको छ अथवा अरुलाई यस्तो भएको देखेको खण्डमा पनि उपचारको लागि जानुपर्छ भनेर सल्लाह दिनुपर्छ। बिरामीको सुरक्षा पहिलो उपचार हो। यस्तो बेलामा बिरामीमा एकदमै नकरात्मक सोचाइ आउछ। समयमा उपचार गर्ने हो भने यो रोग ठिक हुन्छ।

अन्दाजीका भरमा मात्रै रोगको उपचार गरेर हुँदैन। त्यसैले पहिला कस्तो खालको डिप्रेशन हो त्यो पत्ता लगाएर उपचार गर्नुपर्छ।

बिरामीको लागि सुहाउदो उपचारको पद्धती के हुन्छ त्यसबारे बिरामीसँग छलफल गर्नुपर्छ। बिरामीको आफन्तसँग छलफल गरेर उपचार बिधि बनाउनुपर्छ।

त्यसपछि औषधीको उपचार, मानसिक उपचार (साइको थेरापी) गर्न सकिन्छ।

डिप्रेशनको लागि बिरामीको आवश्यक्ता अनुसार चिकित्सकले औषधी दिन्छ।

साइको थेरापीमा मानिसको नकरात्मक सोचाइलाई कसरी बदल्न सकिन्छ भन्ने कुरा सिकाइन्छ। यसका लागि बिभिन्न तरिका अपनाइन्छ। सामूहीक रुपमा र व्यक्तीगत रुपमा बार्ताको माध्यमबाट बिरामीको उपचार गर्न सकिन्छ।

मनो चिकित्सकको सल्लाह बिना आफुखुसी यसको औषधी लिनु हुँदैन। बजारमा पनि चिकित्सकको सिफारिस बिना औषधी पाइदैन।

लामो समयसम्म यसको औषधि प्रयोग गर्न पर्ने पनि हुनसक्छ। औषधिको प्रभाव देखिन दुई तीन हप्ता समय लाग्न सक्छ। औषधी आज खानसाथ भोलि निको हुने भन्ने हुँदैन।९ महिनादेखी १ वर्षसम्म यसको औषधी प्रयोग गरिरहनु पर्ने हुन्छ।

डिप्रेशनका लक्षण पुरै नियन्त्रण हुन्छन् तर भविष्यमा फेरि त्यस्तै तनावको अवस्था आयो भने दोहोर्‍याएर आउन सक्छ। एकपटक ठिक हुनसाथ जिवनभरी ठिक भयो भन्ने हुदैन। एकपटक डिप्रेशन भएर त्यसको उचीत उपचार भइसकेपछि लामोसमय सम्म डिप्रेशन रहीत भएर बस्न सकिन्छ। तर भविष्यमा गएर यदि त्यस्तै तनाव भयो भने दोहोरिएर आउन सक्छ।

२० वर्षको अवधिमा ४ देखी ५ पटक सम्म डिप्रेशनले सताउन सक्छ।

यदी उपचार गरिएन भने ६ देखि १३ महिनामा आफैं ठिक हुन्छ। उपचार गरियो भने २ देखि ३ महिनामा ठीक हुन्छ।

कतिलाई छ डिप्रेशन ?

डिप्रेसन युवाको रोग हो भनिए पनि डिप्रेशनको लागि कुनै उमेर समुह भन्ने हुदैन। अझ युवा महिलाको रोग हो। यो रोगबाट सबैभन्दा बढी युवा र महिला पीडित छन्। त्यसो त बालबालिका तथा प्रौढ मानिस पनि डिप्रेसनको सिकार हुने गर्छन्। वास्तवमा डिप्रेसन कुनै पनि उमेर, लिंग तथा वर्गका व्यक्तिलाई हुन सक्छ। यो रोगबाट आमा मानिस मात्र होइन कि ठूलाठूला हस्थिहरूसमेत पीडित थिए, छन्। वास्तवमा डिप्रेसनको प्रकोप निकै भयावह छ।

सामान्यता जती पनि डिप्रेशनका बिरामी छन् ती मध्ये ५० प्रतिशत बिरामी ४० वर्ष भन्दा कम उमेरका छन्।

बिभिन्न अनुसन्धानहरुले १० देखि १५ प्रतिशत मानिसलाई डिप्रेशन हुने देखाएको छ। भारत र नेपालमा यस्ता खालका अनुसन्धान अहिलेसम्म गरिएको छैन। पश्चिमा अनुसन्धानलाई आधार मान्ने हो भने जुनसुकै समुदायमा जुनसुकै समयमा सर्बे गर्ने हो भने १० देखि १५ प्रशितलाई डिप्रेशनको लक्षण देखिन्छ।

मानिसका अधिकांश रोगहरू गलत जीवनशैलीका कारण पैदा हुन्छन्। डिप्रेसन पनि एक यस्तै रोग हो। त्यसैले डिप्रेसनबाट बच्न दिनहुँ ध्यान, प्राणायाम तथा योगासन वा शारीरिक व्यायामहरू गर्नुहोस्, सात्विक भोजन गर्नुहोस्, सकारात्मक सोच राख्नुहोस्, चिन्ता होइन कि चिन्तन गर्नुहोस्। जीवनको बाटोमा आइलाग्ने समस्याहरूलाई एक—एक गरेर समाधान गर्दै अगाडि बढ्नुहोस्। मूलो कुरा जीवनको एउटा महान् लक्ष्य बनाउनुहोस्। त्यो किनभने ‘लक्ष्य’ भनेको जीवनको आधार हो। त्यसैले त मार्टिन लुथर किंग, जुनियरले एउटा अति नै मनोवैज्ञानिक उद्गार व्यक्त भनेका छन्– यदि मानिसले आफ्नो जीवनमा कुनै महान् उद्देश्यका लागि मरिमेट्ने संकल्प गर्दैन भने उसको जीवन नै बेकार हुन्छ। यहाँ मननयोग्य कुरा के भने मानिसलाई आफ्नो जीवन बेकार लाग्न थाल्यो भने नै डिप्रेसनले आक्रमण गर्छ।

प्रस्तुतीः सन्जिब बगाले

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.