‘कुन उमेरमा स्वास्थ्यमा के जाँच गर्ने भन्नेमा ज्ञानको कमी छ’


सम्यक डाइग्नोस्टिक प्रालि देशकै पहिलो मेडिकल ल्याब्रोटरीहरुको गुणस्तर र प्राविधिक विशेषताका लागि आवश्यक मापदण्ड, ‘आइएसओ १५१८९’ चिन्हद्वारा प्रमाणित प्याथोलोजी ल्याब हो। यतिमात्र नभएर यस ल्याब्रोटरीलाई नेपालमै पहिलो पटक ‘थिन प्रेप’ अर्थात पाठेघर क्यान्सर सम्बन्धी परीक्षण विधि भित्र्याउने जस जान्छ।

राजधानीको जावलाखेल, मध्य बानेश्वर र गठ्ठाघर गरी तीन स्थानमा शाखा रहेको यस प्याथोलोजी ल्याबमा हाल ५ जना फुलटाइम चिकित्सक तथा ल्याब विज्ञहरु आवद्ध छन्। पछिल्लो समय प्याथोलोजी ल्याबमा देखिएको विकृति, प्याकेजकै चेकअप गर्ने प्रवृत्ति तथा कुन उमेर समूहमा कस्ता खालका परीक्षण गर्नु आवश्यक हुन्छ भन्ने बारे कम्पनीका अध्यक्ष एवम् प्याथोलोजिस्ट डा. केयूर गौतमसँग सेतोपाटीले गरेको संक्षिप्त कुराकानीः

सम्यक डाइग्नोस्टिक प्रालिले कस्ता खालका सेवा प्रदान गर्दै आएको छ ?
एक अस्पतालबाट हुने सबैखाले नियमित चेकजाँचको सुविधा हामीले प्रदान गर्दै आएका छौँ। खासगरी मृगौलाका बिरामीको जाँचहरु जस्तै ‘एएनए’, ‘डिएसडिएनए’ जुन ‘इनडाइरेक्ट इम्युनोफ्लोरोसेन्स’ पद्धतिबाट परीक्षण गर्ने गरिन्छ, त्यो सेवा देशभरी हामीले मात्र दिँदै आएका छौँ।

हामीले गर्ने परीक्षणहरु ‘गोल्ड स्टयाण्डर्ड पद्धति’ अर्थात कुनै पनि जाँच गर्ने तरिकाहरु मध्य पनि उत्कृष्टताको आधारमा हुने गर्छन्। बाथरोग र मुटुरोग सम्बन्धी जाँचहरुमा पनि हामी निकै अब्बल छौँ।

काठमाडौँभरी यति धेरै ल्याबहरु छन्, सम्यक अन्य भन्दा के कुरामा उत्कृष्ट छ ?
प्याथोलोजीमा सबैभन्दा महत्वपूर्ण पक्ष हो– सत्यतथ्य रिपोर्ट, त्यो पनि जति सक्दो छिटो उपलब्ध गराउनु। हाम्रो जोड भनेको जति सक्दो छिटो रिपोर्ट तयार गरी त्यति नै बेला परीक्षण गर्ने व्यक्तिलाई एसएमएस तथा इमेलद्वारा त्यसको जानकारी दिन्छौँ। स्वदेशमै धेरै परीक्षण भित्र्याउने कार्यको हामी अभियन्ता हौँ तर हामी बाहेक अन्य धेरै ल्याबहरुले अहिले ती सेवा ल्याइसकेका छन्। त्यसकारण हाम्रो मुख्य ध्यान भनेको ती ल्याबहरु भन्दा कसरी छिटो, गुणस्तरीय रिपोर्ट दिन सकिन्छ भन्नेमा छ।

अर्को महत्वपूर्ण करा भनेको ल्याबमै विशेषज्ञ चिकित्सकको उपलब्धता हुनु हो। ल्याबमा नै विशेषज्ञ चिकित्सक हर्दम उपलब्ध हुने भएकाले जाँच्न आएको व्यक्तिले रिपोर्टमा के आयो भनेर शंका उपशंकाले घेरिएर बस्नु पर्दैन। हामी रिपोर्ट हेरेर तत्काल पूर्ण परामर्शको सेवा दिन्छौँ।

त्योसँगै एकरुपता, विश्वसनियता, अन्तर्राष्ट्रिय स्तरको गुणस्तर तथा ‘थर्ड पार्टी एक्रीडेसन’ हाम्रो सबैभन्दा सबल पक्ष हुन्। त्यस्तै, गुणस्तरसँग जोडिएर आउने अर्को पक्ष शुल्ककै कुरा गर्ने हो भने पनि हामी अन्यको तुलनामा निकै सस्तोमा सेवा दिइरहेका छौँ।

काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लामा फैलिसकेका छौँ, जसले गर्दा आफूलाई पायक पर्ने स्थानबाट बिरामीले सेवा लिन सक्नेछन्। यो बाहेक ‘कस्टमर स्याटिसफ्याक्सन’ हाम्रो मजबुत पक्ष हो।

हाम्रो समाजमा रोग लागेपछि मात्र जचाउन जाने प्रवृति छ। चिकित्सकीय कोणबाट कुन उमेरमा शरीरको कुन कुन परीक्षण कति समयको अन्तरालमा गराईरहनु आवश्यक हुन्छ?
हो, हाम्रो मूख्य चुनाौति भनेकै त्यही हो। हामीलाई खानेकुरामा राम्रो, मिठो र ‘हाइजेनिक’ सबै हुनुपर्छ भन्ने मान्यता राख्छौँ तर त्यो शरीरभित्र गएर के प्रभाव पारिरहेछ भन्नेमा हाम्रो चासो नै हुँदैन। स्वास्थ्य आम मानिसको प्राथमिकतामा अहिलेसम्म परेको देखिँदैन जसले गर्दा कुनै पनि समस्या देखिँदा निको भइहाल्छ नि भन्ने सोच हामीमा व्याप्त छ।

जाँच गर्न जाने नै भइयो भने पनि सस्तो कुन छ भनेर खोज्दै हिँड्छौँ। सुरुमा वास्ता नगर्ने र रोग बढ्दै गएपछि मात्र अस्पताल जाने गर्छौँ। अस्पतालमा गएपछि पनि सम्बन्धित परीक्षणको रिपोर्ट आउन लामो समय लाग्ने हुँदा हाम्रो जस्तो ल्याबको अत्यन्तै धेरै महत्व हुने गर्छ।

हामीले व्यक्तिसँग परामर्श गरी उसको मनोविज्ञान तथा शारिरीक अवस्थाको अध्ययन गरेर उसले के को परीक्षण गर्नु आवश्यक देखिन्छ भन्ने सल्लाह दिन्छौँ र रिपोर्ट आएपछि समस्या निवारणका लागि सम्वन्धित चिकित्सकसँग जान सल्लाह दिन्छौँ। यसका साथै हामीले विभिन्न कार्यक्रम तथा प्याकेज नै बनाई कुन उमेर समूहका मानिसले कस्तो परीक्षण गर्नुपर्छ भनेर स्पष्ट पार्ने गर्छौँ।

सामान्यतया सबै उमेर समूहका मानिसले नियमित रुपमा ‘होल बडी’ चेकअप गराइराख्नु पर्छ। त्यस्तै अन्य चेकजाँच पनि शारिरीक अवस्था, मनोदशा तथा रोगको लक्षण अनुसार एक व्यक्ति र अर्कोमा फरक फरक रुपमा गरिनुपर्छ। तर व्यक्ति स्वस्थ भएको खण्डमा पनि ५० वर्ष लागेपछि ट्युमर, प्रोसटेट लगायतका जाँच गरिनुपर्छ।

त्यसैगरी २५ देखि ४५ उमेर समुहका व्यक्तिले सिबिसी, मृगौला, कलेजो, युरिक एसिड, फास्टिङ ब्लड सुगर तथा दिसा पिसाबको जाँच गराए पुग्छ। लक्षण देखिए मात्र थाइरोइडको परीक्षण गर्नुपर्छ अन्यथा नियमित रुपमा गरिरहनु पर्दैन।

२५ वर्ष भन्दा कमको युवा अवस्थामा भने सिबिसी, थ्यालिसिम्या, सुगर, कलेजो, मृगौला र दिसा पिसाबको जाँच गर्नुपर्छ। यी सबै परीक्षण २ देखि ३ वर्षमा एक चोटि गर्न सकिन्छ भने कुनै लक्षण देखिएको खण्डमा वा शारिरीक अवस्थामा असामान्य परिवर्तन देखिएमा भने तत्कालै परीक्षण गर्नुपर्छ।

नियमित चेकजाँच गर्नेहरुमा कस्ता कस्ता स्वास्थ्य समस्या धेरै देखिने गरेको छ?
नियमित चेकजाँच गराइरहेका मानिसमा पनि प्रायः थाइरोइड, सुगर र युरिक एसिड धेरै देखिने गरेको हामीले पाएका छौँ।

पछिल्लो समय क्लिनिक वा ल्याबहरुले प्याकेज बनाएर आवश्यक तथा अनावश्यक सबै खाले परीक्षण गर्न लगाउने प्रवृति देखिएको छ, यसलाई तपाईंले कसरी हेर्नुभएको छ?
प्याकेज आफैमा राम्रो कुरा पनि हो। हामीले पनि केही नभएको तर नियमित शरिरको जाँच गराउन ‘रेगुलर’, सुगर, रक्तचाप तथा कोलेस्ट्रोलका बिरामीहरुका लागि ‘एक्ज्युकेटिभ’ र ५० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई ५ वर्षमा एक चोटि गरे हुने ‘कम्प्रिहेन्सिभ’ गरी तीन थरीका प्याकेज बनाएका छौँ। तर हाम्रो प्याकेजमै चेकजाँच गराउनेमा जोड भने छैन। किनभने धेरै प्याकेज बनाउनु भनेको बिरामीलाई झन बिरामी बनाउनुसरह हो।

बिरामीमा देखिएको लक्षणका आधारमा कुन कुराको टेस्ट गरिनु खाँचो छ त्यसको मात्र परीक्षण गरिनुपर्छ भन्ने मेरो मान्यता छ। उदाहरणको लागि रिक्स फ्याक्टर छैन भने कोलेस्ट्रोलको परीक्षण ५­५ वर्षको अवधिमा गरे हन्छ।

प्रोस्टेट क्यान्सरका लागि पिएसए परीक्षण गर्ने गरिन्छ जुन सबै प्याकेजमा राखिनु हँदैन। अन्य उमेरका मानिसको हकमा लक्षण देखिएमा बाहेक ५० वर्ष पुगेका व्यक्तिहरुका लागि मात्र प्रोस्टेट ग्रन्थीको परीक्षण गरिनुपर्छ।

तर यो कुरा आम मानिसलाई ज्ञान नहुँदा प्याकेजको नाममा अनावश्यक चेपअप गराउने प्रवृति मौलाउँदै गएको छ। यो एकदमै गलत हो। त्यसैले कहिले कहिले के जाँच गर्ने भनेर व्यक्ति स्वयम्ले पनि चनाखो भएर धेरै जना चिकित्सकसँग परामर्श गर्नुपर्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.