स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था इप्पानका उपमहासचिव प्रकाश दुलालले बिचौलिया लगाएर कमिशन माग्ने नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई सरकारले तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन्।
बुधबार इप्पानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले नहटाए ऊर्जा उत्पादकहरूले नै बोर्डमा ताला लगाएर बोर्ड अध्यक्षलाई छिर्न नदिने बताए।
‘यसअघि बिचौलिया लगाएर हामीसँग कमिशन मागेको कुरा हामीले सार्वजनिक रूपमै उठाएका हौं। हामीलाई धम्की पनि आएको हो। त्यो बेलै नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्थ्यो। अहिले पनि भ्रष्टाचार विरूद्धको जेनजी आन्दोलनपछि बनेको सरकारले उनलाई तुरून्त बर्खास्त गर्नुपर्छ,’ उनले भने।
लामो समयदेखि धितोपत्र बोर्डले अनुमति नदिँदा जलविद्युत आयोजनामा ताला लाग्ने अवस्था सिर्जना भएको उनले बताए।