गत असोज १७ देखि १९ गतेसम्मको भेलबाढीले पुनः अवरूद्ध बनेको बिपी राजमार्ग शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने भएको छ। दुईदिने झरीपछि रोशी खोलामा आएको लेदोसहितको बाढीले बिपी राजमार्गको ५३०० मिटर डाइभर्सनमध्ये ३४१० मिटर बगाएको थियो।
उक्त खण्डको डाइभर्सन बनाउन बिहीबार रातभरि डोजर चलाएको सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादले जानकारी दिए। बिहीबार नै भौतिक मन्त्रीसमेत रहेका कुलमान घिसिङले अवलोकन गरेका थिए। र, काम द्रुत गतिमा सक्न निर्देशनसमेत दिएका थिए।
‘हिजो रातभरि नसुती हामीले काम गर्यौं। अहिले माथिल्लो माम्ती र तल्लो माम्तीमा काम भइरहेको छ। माथिल्लो माम्तीमा ४०–५० टिपर फिलिङ गरेपछि त्यो पूर्ण हुन्छ, तल्लो माम्तीमा खोला डाइभर्सनको काम भइरहेको छ। शुक्रबार दिउँसो ४ बजेसम्म हामी बिपी राजमार्ग सञ्चालनमा ल्याउँछौं,’ उनले भने।
गत वर्ष असोज १० गतेदेखि १३ गतेसम्म आएको भेलबाढीले बिपी राजमार्गको १३ किलोमिटर जति खण्ड कटान गरेको थियो। करिब २४ किलोमिटर खण्डमा क्षति पुगेको थियो। उक्त खण्ड गत वर्षको हिउँदमा अस्थायी डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको थियो। गत वर्षको दसैंपछि १३ दिनमै बिपी राजमार्ग सञ्चालनमा ल्याइएको थियो। मनसुन यामअगाडि त्यसलाई स्तरोन्नति गर्दै बर्खामा पनि गाडी गुड्न सक्ने बनाइएको थियो।
असोज १७ र १८ गते परेको वर्षा र त्यसपछि आएको बाढीले डाइभर्सनका अधिकांश भाग कटान गरेपछि यातायात अवरूद्ध छ। अहिले खुर्कोटबाट रामेछाप सदरमुका मन्थली, दोलखा सदरमुका चरिकोट, सिन्धुपाल्चोकको खाडीचौर निस्किएर अरनिको राजमार्ग हुँदै सवारीसाधन काठमाडौं आउने गरेको छन्। उक्त बाटो साँघुरो र कतिपय ठाउँमा एकतर्फी भएकाले सवारीचालकहरूले असुविधा व्यहोर्दै आएका छन्।