दाङको देउखुरीमा राप्ती नदीपारिको गढवा गाउँपालिकाबाट राजपुर गाउँपालिकाको सिमानासम्म सिँचाइ सुविधा पुर्याउने उद्देश्यका साथ सुरू भएको बड्कापथ सिँचाइ आयोजनाको वनघुर्सी आउटलेटबाट पानी छोडिएको छ।
मुहानबाट वनघुर्सीसम्मको ८.२ किलोमिटर मूल नहर र शाखा नहर निर्माण पूरा भएपछि पानी छाडेर परीक्षण गरिएको थियो। परीक्षण सफल भएकाले वनघुर्सी आउटलेटबाट किसानलाई पानी दिन सुरू गरिएको हो।
स्थानीय किसानले यसपालि त्यही पानीबाट सिँचाइ गरेर धानको बिउ राख्न थालेका छन्।
मूल नहर निर्माणका लागि किसानले जग्गा समेत दिएका थिए। त्यसको बदलामा उनीहरूले राप्ती नदी बगरको उकास जग्गा उपभोग गर्न पाएका छन्। सिँचाइ सुविधा भएपछि किसानहरू आआफ्ना भागको उकास जग्गा खेतीका लागि मिलाउने काममा लागेका छन्।
आयोजनाको मुहान भालुवाङ बजार क्षेत्रस्थित राप्ती नदीको पुलमा छ। मुहानबाट गढवा गाउँपालिका–१, वनघुर्सीसम्म करिब ८.२ दुई किलोमिटर लामो मूल नहर छ। यो आयोजना सुरू भएपछि वनघुर्सीसम्मको मूल नहर र शाखा नहर निर्माण कार्य १२ वर्षमा सम्पन्न भएको हो।
बड्कापथ सिँचाइ आयोजना आर्थिक वर्ष २०६८/६९ मा सुरू भएको थियो।
आयोजना कार्यालय, लमहीका प्रमुख निश्चल छत्कुलीका अनुसार सिँचाइ सुविधा भएपछि वनघुस्री र कुलपानी क्षेत्रका किसान उत्साहित भएका छन्।
'आयोजनाबाट ८० हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा हुनेछ। अन्य दुइटा गाउँका आउटलेटमा आगामी असारसम्म पानी छाड्ने तयारीका साथ काम भइरहेको छ,' छत्कुलीले भने।
यो खण्डको करिब ५० मिटर मूल नहरमा अन्तिम काम बाँकी छ। यस अन्तर्गत शाखा र उपशाखा नहर निर्माणको काम पूरा भइसकेको छ।

वनघुर्सीबाट सिक्रहवा खोलासम्मको निर्माण काम पनि धमाधम भइरहेको छ। यो खण्ड पूरा भएपछि मूल नहरको लम्बाइ करिब साढे १४ किलोमिटर हुनेछ। यो खण्डबाट पनि आगामी असारभरिमा किसानलाई पानी दिने लक्ष्य रहेको छल्कुलीले बताए।
'नहर निर्माणको क्षेत्रमा करिब साढे चार हजार रूख हटाउनु पर्दा काम ढिलो भएको हो,' उनले भने।
बड्कापथ सिँचाइ आयोजना यतिमै सकिँदैन। यस अन्तर्गत गढवाबाट राजपुर गाउँपालिकाको सिमानासम्म कुल चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ कुल ३० किलोमिटर मूल नहर निर्माण गर्ने योजना छ।
बाँकी निर्माण काम आगामी आर्थिक वर्ष २०८२/८३ मा सुरू हुने आयोजना प्रमुख छत्कुलीले बताए।
बड्कापथ सिँचाइ आयोजनाको नहर निर्माण कार्यमा हालसम्म साढे एक अर्ब रूपैयाँ खर्च भएको छ। आयोजना सम्पन्न गर्न तीन अर्ब ७६ करोड रूपैयाँ बजेट छुट्ट्याइएको थियो।
रूख कटानी र जग्गाको भोगाधिकार समेतको खर्चका कारण आयोजना पूरा हुँदा चार अर्ब नौ करोड रूपैयाँ खर्च हुने अनुमान छ।
'आगामी साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ नहर निर्माणको काम भइरहेको छ,' उनले भने।
आयोजना सम्पन्न भएपछि स्थानीय किसानको चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ।
उनका अनुसार पहिला मुख्य समस्या रूख कटानको थियो। अहिले नहर निर्माण क्षेत्रमा पर्ने सबै रूख लगभग हटाइसकिएको छ। अब धमाधम काम हुनेछ।
थारू समुदायका स्थानीय किसानहरूले परम्परागत रूपमा विकास गरेको सिँचाइ प्रणाली व्यवस्थित गर्न सरकारले बड्कापथ आयोजनाको अघि बढाएको थियो। थारू भाषामा 'बड्का' भनेको 'ठूलो' हो। विगतमा उनीहरू माटो र स्याउलाको मद्दतले नदीमा अस्थायी बाँध बनाएर कुलोबाट खेतबारीमा पानी पुर्याउँथे।

बड्कापथ सिँचाइ आयोजना अन्तर्गत सिंगो देउखुरी उपत्यकामा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सतह सिँचाइ आयोजनाको अवधारणा अनुरूप पनि काम भइरहेको छत्कुलीले बताए। यो कामको सुरूआत राप्ती नदीवारिको लमही नगरपालिका–९, सतबरिया क्षेत्रबाट भएको छ।
गढगा गाउँपालिका क्षेत्रमा 'दंगाली छाप' प्रणाली अनुरूप सिँचाइ आयोजना अगाडि बढाइने भएको छ। 'दंगाली छाप' स्थानीय किसानले विकास गरेको पुरानो सिँचाइ प्रणाली हो।
दाङको देउखुरी उपत्यकामा चार वटा स्थानीय तह छन्। बड्कापथ सिँचाइ आयोजनाले राप्ती नदीपारिका गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँछ।
राप्ती नदीवारिका राप्ती गाउँपालिका र लमही नगरपालिकाको ५ हजार ८ सय हेक्टर जमिनमा सिँचाइ पुर्याउन प्रगन्ना सिँचाइ आयोजना पहिले नै पूरा भएको थियो। थारू समुदायले परम्परागत रूपमा चलाएको प्रगन्ना सिँचाइ कुलो नै प्रगन्ना सिँचाइ आयोजनाका रूपमा विकास गरिएको थियो।
प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय, लमहीका प्रमुख ईश्वरनाथ पक्वाँका अनुसार यो कार्यालयले आयोजनाको मर्मत सम्भारको काम गर्छ। यो आयोजनामा राप्ती नदीको भालुवाङ पुलमुनिबाट चार वटा मूल नहर निर्माण गरिएका छन्। चार वटा नहरको कुल लम्बाइ ५१ किलोमिटर छ।
'तिनका शाखा र प्रशाखा समेत गरी कम्तीमा सय किलोमिटर नहर सञ्जाल विस्तार भएको छ,' पक्वाँले भने।
प्रगन्ना सिँचाइ आयोजनाको सुविधा पुगेको अधिकांश भूमि मकै उत्पादनको पकेट क्षेत्र मानिन्छ।










