चितवनको भरतपुरमा बनिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम १५ प्रतिशत सकिएको छ।
गत असार २३ गते भरतपुर महानगरपालिकाले हिमालयन कालिचोक बिबिआर जेभीसँग रंगशाला निर्माणको पहिलो चरणको कामका लागि सम्झौता गरेको थियो।
यो रंगशाला धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन सुरू गरेको थियो। तर बजेट अभावका कारण सम्पन्न गर्न सकेन। त्यसपछि महानगरपालिकाले स्वामित्व लिएर रंगशाला निर्माणका लागि टेन्डर आह्वान गरेको थियो।
७८ करोड रूपैयाँमा बनाइसक्ने गर्ने गरी पहिलो चरणको सम्झौता भएको हो। भरतपुर महानगरपालिकाका सिनियर डिभिजन इन्जिनियर सन्तोष आचार्यले अहिलेसम्म आर्थिक र भौतिक प्रगति १५ प्रतिशत भएको बताए।
अहिले रंगशालाको प्यारापिट र दुइटा टावर निर्माणको काम भइरहेको छ।
पहिलो चरणमा दस हजार जना दर्शक अट्ने प्यारापिट, दुइटा तीन/तीन तलाको भिआइपी टावर, मैदानसहित पाँच वटा पिच, ड्रेनेज (पानी निकास), रेलिङ, बाटो, पार्किङ क्षेत्र निर्माण गरिँदैछ। पाँच हजार जना अट्ने प्यारापिट पहिल्यै तयार भएको थियो।
'भिआइपीहरू, खेलाडी, अम्पायर, कर्पोरेट बक्स राख्न उत्तर र दक्षिणमा एक/एक वटा टावर बन्दैछन्। अहिलेलाई १५ हजार दर्शक अट्ने प्यारापिट निर्माणको काम पनि धमाधम भइरहेको छ,' इन्जिनियर आचार्यले भने, 'फागुनभित्र भौतिक प्रगति २० प्रतिशतभन्दा बढी हुन्छ।'
यी टावरहरू नेपाली संस्कृति झल्कने परम्परागत शैलीमा बनाउन लागिएको छ।
यो रंगशाला ३० हजार जना दर्शक अट्ने प्यारापिट निर्माण गर्ने गरी डिजाइन गरिएको हो। थप १५ हजार जना अट्ने प्यारापिट, कुर्सी र फ्लड लाइटका लागि दोस्रो चरणमा काम हुने आचार्यले बताए। ३० हजार जना अट्ने प्यारापिट बनाउन रंगशालामा २८६ वटा पिलर पहिल्यै उठाइएका थिए।

निर्माण कम्पनीले केही दिनमै मैदानको काम सुरू गर्न लागेको छ। बर्खा लाग्दा दुबो रोपेर सक्ने गरी मैदानको काम सुरू हुने आचार्यले बताए।
'बर्खाअघि मैदानका साथै प्यारापिट, भिआइपी टावरको बाहिरको काम सकिन्छ। बर्खाको समयमा भित्रको काम हुन्छ,' आचार्यले भने, 'सम्झौता अनुसारको म्याद अझै २२ महिना बाँकी छ। तर निर्माण कम्पनीको काम हेर्दा १५ महिनामै काम सकिने देखिन्छ।'
निर्माण कम्पनीले बजारमा पर्याप्त मात्रामा सिमेन्ट नपाएको गुनासो गरेको छ। आचार्यले अहिले सिमेन्टको समस्या देशव्यापी रहेको बताए।
'तीन दिनमा एक गाडी सिमेन्ट पाउन पनि गाह्रो भइरहेको रहेछ। यो समस्या समाधान भएन भने त के हुन्छ भन्न सक्दिनँ। समस्या भएन भने तोकिएको समयभन्दा अघि रंगशाला निर्माणको काम सकिन्छ,' उनले भने, 'बढीमा अबको २२ महिनापछि खेल्न लायक बन्छ।'
२०८३ पुस २२ गते सम्झौता अनुसारको अन्तिम मिति हो। पहिलो चरणको कामका लागि महानगरपालिकाले एक अर्ब १० करोड रूपैयाँको टेन्डर आह्वान गरेको थियो।
पहिल्यै बनेको नमूना खेल मैदानलाई यथावत राख्ने र उक्त स्थानमा बनाउने भनिएको पार्किङ स्थल अन्यत्र बनाउने तयारी गरिएको छ।
धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशालामा ५८ करोड रूपैयाँ बराबरको काम भएको भनेर छाडेको थियो। त्यतिखेरसम्म ३९ प्रतिशत काम सकिएको दाबी फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले गरेका थिए।
रंगशाला निर्माणका लागि यस वर्ष संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले ४ करोड ८० लाख रूपैयाँ बजेट विनियोजन गरेका थिए।
बागमती प्रदेश सरकारले कुल लागत रकमको ७० प्रतिशत बेहोर्ने निर्णय गरेको थियो। प्रदेश सरकारले २०८० माघमा रंगशाला निर्माणका लागि ५२ करोड ५० लाख रूपैयाँ दिने निर्णय गरेको थियो।
२०७८ साउन २२ गतेदेखि निर्माण रोकिएको यस रंगशालाको निर्माण सम्पन्न गर्न २०८० कात्तिक २३ गतेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकार मिलेर पूरा गर्ने निर्णय गरेको थियो।
त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको २० बिघा १९ कट्ठा जमिनमा रंगशाला सञ्चालन गर्न महानगरपालिकाले २० वर्षका लागि लिज सम्झौता गरिसकेको छ।











