चार सय रोगको उपचारमा प्रयोग हुने लेजर थेरापी के हो?


थेरापी भन्ने बित्तिकै एउटा उपचारको प्रविधि भन्ने बुझिन्छ। लेजर विकिरणको प्रयोगबाट गरिने उपचारलाई लेजर थेरापी भनिन्छ।

लेजर विकिरणले रोगी अंगलाई सेकाएर उपचार गर्छ। त्यो विकिरण छालाको माध्यमबाट भित्रि अंगसम्म ६ सेन्टी मिटरसम्म पुगेर टिस्यू हिलिङको काम गर्छ जसले गर्दा रोगी अंग निको हुन्छ।

शरीरका कुनै पनि अंगमा रोग लाग्नु भनेको त्यो अंगका कोषिकाहरू अशक्त हुनु हो। हाम्रो शरीर थुप्रै अंगहरु मिलेर बनेको हुन्छ। हरेक अंगका आफ्नै प्रकारका कोषिकाहरू हुन्छन्। कोषिकाहरू अशक्त भन्नाले सुन्नीनु, रक्त सञ्चालन कम हुनु, अक्सीजन र खाद्य पदार्थको कमी हुनु’ र संक्रमण हुनु तथा चोट लाग्नु हो।

त्यो कोषिका पुनः सशक्त भएर सक्रिय रुपले काम गर्न लेजर विकिरणले मद्धत गर्छ। यसले शुन्नीएको घटाउने, रक्त सञ्चालन कम भइरहेको छ भने नलीहरु खोल्दिने बाटो बन्द छ भने अर्को रक्त नली बनाउने काम गर्छ।

कुनै पनि कोषिकाहरू अशक्त हुन थाल्छ भने यो विकिरणले ती कोषिकाहरुलाई सशक्त बनाउँछ। एउटा कोषिका सशक्त भएपछि उसले पहिला जे काम गरेको थियो त्यो काम पुनः गर्न सकेपछि त्यहाँ सामान्य अवस्था हुन्छ।

आजसम्म कुनै पनि प्रविधि त्यस्तो छैन जसमा सेल्स नै हिलिङ हुन्छ। दुखाई घटाउने, सुन्निएको घटाउने, दुखाई थाहा नदिने, दुखाइको सूचना अघि नपठाउने काम मात्रै हुने हो।

अरू मेशिनको प्रयोगले जति पनि उपचार हुन्छ त्यसले भित्रसम्म डोज पुर्‍याउन सक्दैन। लेजर ६ सेन्टीमिटरसम्म जान्छ भने त्यती भित्रसम्म गएर हरेक बिग्रेको सेल्सलाई निको पार्ने आफ्नै अवस्थामा फर्काएर कार्य गराउने क्षमता राख्दछ ।

अरू प्रविधि र यसमा फरक

सबै खालका प्रविधिका आ–आफ्नै विशेषता छन् । प्रविधिमा जस्तो उपकरण प्रयोग गर्‍यो त्यस्तै भिन्नता हुन्छ। आयुर्वेदिक अलग्गै, एलोपेथिक अलग्गै, होमियोप्याथिक अलग्गै, भएजस्तै लेजरको बिकिरणबाट हुने भएकोले यो त झन फरक छ।

झण्डै चालिस वर्षको अनुसन्धानपछि प्रमाणित भएर लेजर थेरापी आएको हो। यसले शरीरको कुनै पनि अंगलाई हानी गर्दैन भन्ने कुरा बैज्ञानिक रुपमा प्रमाणित भएको छ। यो फिजीयोथेरापी अन्तर्गत नै पर्छ। फिजियोथेरापी अन्तर्गत जति पनि उपचारमा उपकरणहरुको प्रयोग हुन्छ सबैभन्दा बढी आधुनीक र उपयुक्त मान्न सकिन्छ। जसमा कुनै पनि तातो चिसो हुँदैन, यसको कुनै पनि साइड इफेक्ट छैन।

कुनै पनि हानिकारक डोज हुँदैन। यसले हरेक सेल सद्धे बनाउने क्षमता राख्छ। सेल सामान्य हुने बित्तिकै त्यहाँको रोग निको हुन्छ।

मेशिनबाट दिइएको डोज पहिला नै निश्चित हुन्छ। एउटा अंग विशेषलाई त्यो डोज दिइन्छ जसले गर्दा त्यो अंग हिलिङ हुन्छ। यो बन्दा नै कोषीकालाई सक्रिय गराएर पुनः सामान्य अवस्थामा ल्याउन कति डोज चाइन्छ भन्ने अनुसन्धान गरिएको हो।

कति गहिराइसम्म जाने र सेक्ने अनि कति गहिराइमा रहेको अंगको रोगलाई टार्गेट गर्ने पहिला नै फिक्स गरिएको हुन्छ।

यसमा फिक्स गरेको डोज अनुसार सुपरफिसियल दिने, भित्रसम्म दिने भनेर बनाइएको हुन्छ भने त्यसमा पनि शरीरको हरेक अंगलाई मिलाएर डोज प्रोग्रामीङ गरिन्छ। त्यो डोज कही पनि डाइभर्सन हुँदैन।

लेजरको एकदमै राम्रो उपलब्धी र लक्ष्य भनेकै जति डोज मेशीनबाट दिइन्छ त्यती डोज सेल्सले पाउन सक्छ। यो लेजर विकिरण मोनोक्रोमाटिक कोहरेन्ट हो ।

औषधिले अस्थायी रुपमा मात्रै उपचार गर्छ र यसको साइड इफेक्ट पनि हुन्छ। तर लेजर थेरापीको कुनै साइड इफेक्ट छैन। रोग हेरी पूर्ण डोज पुग्नेगरी उपचार गरिसकेपछि यसको इफेक्ट दिर्घकालिन रहन्छ।

कस्ता रोगमा लेजर थेरापी दिइन्छ

विज्ञानले गरेको अनुसन्धान अनुसार ४ सय भन्दा बढी किसिमका रोगहरुका लागि लेजरथेरापी दिन सकिन्छ। सबैभन्दा बढी दुखाइसँग सम्बन्धीत छ।

  • हाडजोर्नी दुःखेको, सुन्निएको (बाथ, युरीक एशीड, हड्डी खिइएको भाच्चिएको, सुन्निएको, जोर्नीमा पानी जमेको)
  • नशा सम्बन्धी रोगहरू (गर्धन, ढाड, हातमा नशा च्यापिएको डिस्क प्रोल्याप्स, हात गोडा झमझम हुनु, कमजोर हुनु, मष्तिस्क पक्षघात भइ प्यारलाइसिस, भेरीकोज भेन हुनु)
  • बिभिन्न भित्री अंगको अल्सरहरू (पेटको अल्सर,आन्द्राको अल्सर)
  • शरीरको बाहिर हुने निको नभएका घाउहरू (छालाको अल्सर, डाइबेटीक अल्सर, भेरीकोज अल्सर, पाइल्स, मुखभित्र आउने घाउहरू, पाठेघरको मुखको घाउ, नशाहरू सुक्दै खुट्टाको औलाहरुमा घाउ आइ औला मर्दै जाने अवस्थाका रोग–बर्गरज डिजीज)
  • मुटु र छाति सम्बन्धी रोगहरू (मुटुको धमनी ब्लक, दम, निमोनीया)
  • नाक कान घाँटी सम्बन्धी (नाक बन्द हुनु, नाकभित्र मासु पलाउनु, पिनास, टन्सिल, फाराइन्जाइटीस्, कान दुख्नु, कान नसुन्नु र कान बज्ने)
  • छाला सम्बन्धी रोगहरू (बिभिन्न दाद, सेतो दुबी, सोरीयासीस, डण्डीफोर, घाउ फोकाहरू, केलोइड, नयाँ तथा पुराना घाउको दाग अथवा आगोले पोलेको र एलर्जी)
  • पिसाब र मुत्रनली सम्बन्धी (प्रोष्टाटाइटिस्ट, सिस्टाइटिस, किड्नी सम्बन्धी बिभिन्न रोगहरु)

हरेक रोगको उपचारमा एउटा स्टेज हुन्छ। कुनै पनि रोग निको हुने र नहुने स्टेज हुन्छ। सेल्सलाई जोगाउनै नसकिने अवस्था जाग्दै नजागेको अवस्था पनि हुन्छ।

त्यसैले रोगको उपचारको विधि पनि फरक हुन्छ। रोग जति ताजा छ त्यती थोरै डोजले उपचारको काम गर्छ। जति क्रोनिक छ जति पुराना रोगहरु छन् त्यसमा अलि बढि डोज लाग्छ।

कसैलाई पक्षघात भएको वीस वर्ष भएको छ भने त्यसमा त्यो प्रयोग विहिन छ। पक्षघात भएको दुई वर्ष या पाँच वर्ष भएको खण्डमा यसले काम गर्न सक्छ।

कतिपय बिरामीहरु ह्वील चेयरमा आइरहेका हुन्छन उनीहरुको पक्षघातले गर्दा मांशपेशीहरू सुकेको हुन्छ तर पनि त्यस्ता बिरामीको पनि क्रमशः उपचार भइरहेको छ। उनीहरु विस्तारै उठ्न र हिड्न सक्ने पनि भएका छन्।

लेजर विकिरण कसरी प्रयोग गरिन्छ ?

समस्या भएको भागको माथिको भागबाट लेजर विकिरण प्रवाह गरिन्छ । जस्तो पेट, मुटु, कलेजो, फोक्सोलगायत शरीरका कुनै पनि भागमा समस्या आएमा त्यसको बाहिरी छालबाट लेजर विकिरण प्रवाह गरिन्छ । लेजर विकिरण पद्धतिमा विकिरण छालामा ६—८ सेन्टिमिटिर भित्र सम्म जान्छ । यो ९० डिग्रीको साइजमा सिधा भित्र पस्छ । यो आँखाले देखिँदैन र रंग पनि हुँदैन । विकिरण न तातो हुन्छ, न चिसो । न गएको देखिन्छ, न आएको । तर सम्बन्धित भागको समस्या न्यूनिकरण गर्छ र सो अंगका रोगहरु निको हुन्छ ।

लेजर थेरापी र अरू उपचार विधि

लेजर थेरापी र अन्य उपचार विधिको सम्बन्ध जोडिएको छ। कोही व्यक्तीले आयुर्वेदीक औषधी खान रूचाउँछ, एलोपेथिक खान रुचाउँछ यी सबै खाले औषधी खाएर पनि लेजर थेरापी गर्न सकिन्छ।

उपचारका लागि औषधीले लामो समय लिन सक्छ भने लेजर थेरापीले तुरून्तै काम गर्न सक्छ। यसको उपचार लामो समयसम्म टिक्न पनि सक्छ। होमीयोप्याथिक र घरमै गरिने नेचुरल थेरापीसँगै  पनि लेजर थेरापीलाई लैजान सकिन्छ। यसमा कुनै पनि औषधिलाईसँगै लैजान सकिन्छ।

जुनसुकै किसिमको उपचार विधि अपनाएको छ भने पनि लेजर थेरापीले सहयोग गर्छ तर हानी गर्दैन। लेजर थेरापी गरिरहेको व्यक्तिले मेशीन लगाएर अन्य किसिमको थेरापी गर्न भने मिल्दैन।

नेपालमा यसको प्रयोग

नेपालमा यसको प्रयोग दिनहुँ बढ्ने क्रममा रहेको छ। बिरामीहरुले यसको उपयोगबारे बुझ्दै गएका छन्। अहिले यसको व्यापकता बढ्दै गएको छ। सबैभन्दा बढी अन्त निको नभएका बिरामीहरु यहाँ आउने चलन छ। जति ठाउँमा गए तर उपाय लागेन अनि कसैले यहाँ जान भन्दियो भने आउनेहरू पनि छन्।

अहिले यसलाई नयाँ आशाको रुपमा लिने गरेका छन्। म काहिँबाट पनि निको भइनँ भने लेजर थेरापीबाट निको हुन्छु भनेर समेत लिन थालेका छन्। कुनै पनि रोगको सुरुको स्टेजमा औषधि खादा खादै पनि लेजर थेरापी गर्न सकिन्छ।

वर्षौ औषधी खाएर उपाय नलागेर खुट्टा बांगो, हात माथि नजाने, ढाँडमा नशा च्यापिएर खुट्टा एकदमै लुलो, जिउ नतान्ने हिड्न नसक्ने, जिउ हल्लिने खुट्टा पोल्ने भएपछि यसले केही समय लिन्छ। तर यो पनि निको हुन्छ।

खर्च कति ?

आर्थिक रूपमा यो एकदमै सस्तो छ। जुन अरु उपचार विधि हुने ठाउँमा लिइने शुल्क भन्दा निकै सस्तो छ। किनकि, बिरामी आफैंले त्यो भोगेका छन्। एउटा अकुपंचर गर्दा एक दिनको हजार भन्दा माथि तिर्नु परेको बताउँछन्। तर लेजर थेरापीमा आधा घण्टामा एउटा व्यक्तीलाई बिभिन्न उपकरण प्रयोग गरेर उपचार गरेको पाँच सय रूपैया भन्दा बढि लाग्दैन। अन्य उपचार विधि प्रयोग गर्नुपर्‍यो भने केही थप खर्च लाग्छ तर मुख्य लेजर थेरापी गर्दा दिनको  चार सय मात्रै हो।

उपचार दसदेखि बिस दिनसम्मको  हुन्छ। बिस दिनमा सत प्रतिशत  निको त नहोला तर धेरै सुधार हुन्छ। अलि पुरानो रोग रहेछ भने पनि वीस दिनभित्र नतिजा भने आउँछ।

कस्ता बिरामीले लेजर थेरापी गर्नुहुँदैन ?

आँखामा लेजर थेरापी गर्नुहुँदैन । गर्भावस्था, रक्तअल्पता, ल्युकिमिया र अन्य क्यान्सरका बिरामीले लेजर थेरापी गर्न हुँदैन ।

प्रस्तुतीः सन्जिब बगाले

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.