तनावमा पेट किन पोल्छ?


कामको हतारले दिमाग रन्थनिएको बेला होस् या तनावको बोझले थिचिएको बेला।

कुनै चिज पाउँदाको खुसीले मन भरिएको होस् वा केही गुमाउँदाको पीडाले दुःखी।

कुनै योजनाले व्यग्र बनाउँदा होस् वा कुनै योजना पूरा नहुँदाको छट्पटी।

यी सबै बेला दिमाग त भारी हुन्छ नै, पेट पनि कता–कता गह्रौं भएको वा पोलेको महशुस गर्नुभएको छ?

छ भने त्यो सामान्य हो।

त्यो पेट पोलेको होइन। बरु पेटमा हुने ‘दोस्रो मस्तिष्क’ ले हाम्रो उत्तेजना, आवेग, हर्ष वा विस्मातमा प्रतिक्रिया जनाएको हो।

अब तपाईं सोध्न सक्नुहुन्छ, मस्तिष्क त हाम्रो टाउकोमा पो हुन्छ! पेटमा यो दोस्रो मस्तिष्क कहाँबाट आयो?

टाउकोमा हुने मस्तिष्क हाम्रो स्नायू प्रणालीको एउटा हिस्सा हो। यसले हाम्रो शरीरका सबै अंग नियन्त्रण गर्छ, आदेश दिन्छ, प्रतिक्रिया जनाउँछ। यो सँगसँगै हाम्रो शरीरमा अर्को स्नायू प्रणाली पनि हुन्छ, जुन घाँटीदेखि मलाशयसम्म फैलिएको हुन्छ।

अब तपाईं सोध्नुहोला, घाँटीदेखि मलाशयसम्मको भाग त पाचन प्रणालीको हो। हो, यो पाचन प्रणाली नै हो। यही पाचन प्रणालीका अंगमा १० करोड यस्ता स्नायू कोष गुजुल्टिएर बसेका हुन्छन्, जसले हाम्रो मस्तिष्कले झैं प्रतिक्रिया जनाउँछन्। यसैलाई वैज्ञानिकहरू ‘दोस्रो मस्तिष्क’ भन्छन्।

दोस्रो मस्तिष्कका यी करोडौं कोष हाम्रो माथिल्लो मस्तिष्कसँग नियमित सम्पर्कमा हुन्छन्। माथिल्लो मस्तिष्कमा उत्पन्न हुने कामको दबाब होस् या कुनै उत्तेजना वा आवेग, त्यसले सिधा दोस्रो मस्तिष्कलाई तरंगित पार्छ। त्यही भएर हामी पेट पोलेको वा गह्रौं भएको महशुस गर्छौं।

भोक लागेको बेला खानेकुरा देख्नेबित्तिकै पेट कुइँकुइँ गर्न थालेको त तपाईंलाई हेक्कै होला। यो पनि माथिल्लो र दोस्रो मस्तिष्कबीच सन्देश आदानप्रदानकै नतिजा हो। खानेकुरा देखेपछि माथिल्लो मस्तिष्कले भोक लागेको सन्देश दिन्छ। सन्देश पाएपछि दोस्रो मस्तिष्कले पेटमा रस उत्पादन गर्न थाल्छ। यसले भोक पहिलेभन्दा तीव्र हुन्छ।

कुनै नयाँ ठाउँमा बोल्दा वा सार्वजनिक वक्तव्य दिँदा पेट हुँडलिएको पनि तपाईंलाई हेक्कै होला। यस्तो बेला कतिलाई शौचालय नै जानुपर्ने पनि हुन्छ। यो पनि माथिल्लो र दोस्रो मस्तिष्ककै सम्पर्कले भएको हो। नयाँ ठाउँमा बोल्न तपाईंलाई संकोच वा डर छ भने दोस्रो मस्तिष्कले प्रतिक्रिया जनाउन थालिहाल्छ। यसैले पेट हुँडलिन्छ।

यी दुई प्रणालीबीच कसरी सूचना आदानप्रदान हुन्छ भन्नेमा केही समय अघिसम्म वैज्ञानिकहरू दुबिधामा थिए। पेटमा हुने ‘इन्टेरोइन्डोक्राइन’ कोषले उत्पादन गर्ने हर्मोनका माध्यमबाट यी मस्तिष्कबीच सम्पर्क हुन्छ भन्ने धेरैको विचार थियो।

ड्यूक विश्वविद्यालयका स्नायू वैज्ञानिक डियागो बोहोक्वेजले भने यो सम्पर्क सिधा पनि हुन सक्छ भन्ने पत्ता लगाए। उनको अनुसन्धान निष्कर्षले भन्छ, ‘केही इन्टेरोइन्डोक्राइन कोष पेटमा हुने स्नायू कोषहरूसँग सिधा सम्पर्कमा हुन्छन्। यही सम्पर्कका कारण, मस्तिष्कले अनुभूति गर्ने तरंग पेटले पनि अनुभूति गर्छ।’

डियागोलाई यो अनुसन्धानमा लाग्न प्रेरित गर्ने कारण दुइटा थिए।

पहिलो हो, कुखुरा।

इक्वेडरबाट अमेरिका बसाइ सरेपछि डियागो नर्थ क्यारोलिना स्टेट विश्वविद्यालयको पोषण प्रयोगशालामा अनुसन्धानकर्ताको काम गर्न थाले। त्यहाँ उनीहरूले कुखुरामाथि अनुसन्धान गरे।

‘कुखुरापालनमा सबभन्दा ठूलो चुनौती चल्लालाई जतिसक्दो छिटो दाना खुवाउनु हो, ताकि मोटोघाटो कुखुरा बढीभन्दा बढी उत्पादन गर्न सकियोस्,’ डियागोले भने, ‘मेरो पिएचडी गाइडले आइडिया निकाल्नुभयो, चल्लालाई अन्डाभित्रै छँदा दाना खुवाउने गर्यो भने ऊ यति अभ्यस्त हुन्छ, सुरुकै दिनदेखि खाने बानी पर्न सक्छ।’

नभन्दै, अन्डाभित्रै दाना छिराएर खुवाउँदा चल्लाको स्वभावमा अचम्मलाग्दो परिवर्तन देखियो। दाना नखुवाएको चल्ला अन्डाबाट निस्केपछि पाँच–छ घन्टा सुत्थे। अन्डाभित्रै दाना खाने बानी परेका भने निस्कनेबित्तिकै आहाराको खोजीमा लाग्थे। त्यस्ता चल्ला बढी सतर्क हुने गरेको डियागो बताउँछन्।

‘उनीहरू वरिपरिका गतिविधिमा बढ्ता चनाखो हुने र एकअर्कालाई ठुंग्ने गरेको हामीले पायौं,’ उनले भने, ‘अन्डाभित्र दाना छिराएर खुवाउँदा चल्लाको स्वभावमा यस्तो परिवर्तन देखेर म छक्क परेँ।’

दोस्रो कारण हो, उनको साथीको ग्यास्ट्रिक शल्यक्रिया।

डियागोका साथी मोटोपनासँग जुध्दै थिए। उनले यसबाट मुक्ति पाउने अन्तिम विकल्पका रूपमा ग्यास्ट्रिक ‘बाइपास’ शल्यक्रिया गर्ने निर्णय गरे। यसले काम गर्यो। शल्यक्रियापछि उनले धेरै तौल घटाए। उनको मधुमेहको समस्या पनि सुल्झियो।

मधुमेह त निको भयो, तर उनको जिब्रोको स्वाद फेरियो। शल्यक्रियाअघि उनी अन्डाको पहेँला भाग खानै सक्दैन थिए। शल्यक्रियापछि भने उनलाई त्यही पहेँलो भाग खाउँ खाउँ लाग्यो। तौल घटाउन अन्य किसिमका शल्यक्रिया गरेका बिरामीको पनि यसैगरी स्वाद फेरिएको रेकर्ड छ। वैज्ञानिकहरू भने यस्तो कसरी र किन हुन्छ भन्नेमा ढुक्क थिएनन्।

‘यो हाम्रो शरीर विज्ञानमा नितान्त नयाँ विषय हो,’ उनले भने, ‘पेटमा हुने दोस्रो मस्तिष्कबारे थप नयाँ अनुसन्धान हुँदै जाने हो भने मस्तिष्कले खानाको स्वाद कसरी ग्रहण गर्छ भन्ने थाहा पाउन सकिन्छ।’

पेटमा खानेकुरा आइपुगेको चाल पाउने काम इन्टेरोइन्डोक्राइन कोषले गर्छ भन्नेमा वैज्ञानिक सहमत छन्। यो कोषले पेटमा खानेकुरा आइपुग्नेबित्तिकै एक किसिमको हर्मोन निष्कासन गर्छ, जुन रक्तनलीभित्र छिरेर वा नजिक कुनै स्नायू कोषलाई तरंगित पारेर भोक जगाइदिने काम गर्छ भन्ने वैज्ञानिकहरूको आकलन छ।

डियागो र उनका सहकर्मीहरूले अनुसन्धान क्रममा इन्टेरोइन्डोक्राइन कोषलाई मिहिन हेरेका थिए। अनुसन्धानकर्ता टोलीले त्यसको थ्रिडी तस्बिरसमेत निकालेको थियो। यसले यस्तो संरचना देखियो, जुन पहिले कहिल्यै देखिएको थिएन।

‘इन्टेरोइन्डोक्राइन कोषको भौतिक संरचना मस्तिष्कको स्नायू कोषसँग मिल्दोजुल्दो भएको हामीले देख्यौं,’ उनले भने, ‘त्यसपछि हामीलाई यी दुवै कोषबीच आपसी सम्पर्क पनि हुनसक्छ भन्ने लाग्यो।’

डियागो र उनको टोलीले मस्तिष्क र पेटको सम्पर्क पुष्टि गर्न मुसामाथि अनुसन्धान गरे। उनीहरूले मुसालाई रेबिज भाइरसको खोप दिए। यो भनेको सोझै स्नायू प्रणालीमा असर पार्ने भाइरस हो। सात दिनपछि मुसाको ठूलो आन्द्रामा हुने इन्टेरोइन्डोक्राइन कोष हरियो हुँदै गयो। यसले के देखायो भने, ठूलो आन्द्राको कोषले पनि स्नायू कोषले जस्तै काम गर्छ।

मस्तिष्क र पेटबीचको सम्पर्क पहिल्याउनुले कुनै दिन मोटोपना, अटिजम, पेट गडबड हुने, मानसिक तनाव लगायत रोगको नयाँ उपचार पद्दति विकास गर्न मद्दत पुग्ने डियागो बताउँछन्।

‘दुब्लो–पातलो केटाकेटीको क्लिनिकल परीक्षण गर्दा उनीहरू सानैदेखि आफूले खाने खानेकुराप्रति सतर्क पाइएको थियो,’ उनले भने, ‘पेटसँग सम्बन्धित कतिपय रोगको जड मानसिक हुनसक्छ भन्ने वैज्ञानिक निष्कर्षपछि अब यसले रोग उपचारमा पनि मद्दत गर्नेछ।’

त्यसो भए के पेटको इन्टेरोइन्डोक्राइन कोषले वासना, स्वाद र स्पर्स पनि अनुभूति गर्न गर्छ?

‘यसको सम्भावना छ, तर यसबारे थप अध्ययन हुन बाँकी छ, हाम्रो अबको अध्ययन यही दिशातर्फ उन्मुख छ,’ डियागोले भने, ‘पेट मात्र होइन, फोक्सो, प्रोस्टेट लगायत अंगमा पनि यस्तै विशेषता भएको इन्टेरोइन्डोक्राइन कोष हुन्छ।’

‘अबको अनुसन्धान भनेको मस्तिष्कले यी अंगबाट कसरी सूचना ग्रहण गर्छ र यसले हाम्रो अनुभूतिलाई कसरी प्रभाव पार्छ भन्ने हो,’ उनले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.