उत्तर कोरियाका उच्च अधिकारीहरू अमेरिका पुगेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको शिखर वार्ताअघि उत्तर कोरियाका अधिकारी अमेरिका पुगेका हुन्।
किम योङ चोल नेतृत्वको उत्तर कोरियाली टोलीले बुधबार साँझ अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओसँग भेट गरेका छन्। उनीहरूबीच झन्डै डेढ घन्टा कुराकानी भएको छ।
पोम्पेओले उत्तर कोरियाली अधिकारीलाई रात्रीभोज पनि दिएका थिए।
अमेरिकी जासुसी संस्था सिआइएका पूर्वप्रमुखसमेत रहेका पोम्पेओ यसअघि २ पटक उत्तर कोरिया पुगेका थिए।
पछिल्ला १८ वर्षमा उत्तरका अधिकारी भने पहिलो पटक अमेरिका पुगेका हुन्।
यसअघि ट्रम्प र किमको शिखर वार्ता जुन १२ मा सिंगापुरमा हुने तय भएको थियो। त्यो मिति ट्रम्पले रद्द गरेका थिए। वार्ताको अर्को मिति तय भएको छैन।