हुलाकी राजमार्गमा पनि सूचना राजमार्ग, नेपाल आफैंले अप्टिकल फाइबर राख्ने

Optic fiber cable


हुलाकी राजमार्गसहित तराईका विभिन्न जिल्लामा उच्च गतिको इन्टरनेट पूर्वाधार निर्माण नेपाल सरकार आफैंले गर्ने भएको छ।

हुलाकी राजमार्गमा पनि सरकार आफैंले अप्टिकल फाइबर विछ्याउने र त्यसैलाई तराईका जिल्लालाई एकआपसमा जोडेर इन्टरनेट पूर्वाधार तयार पार्ने सरकारले लक्ष्य लिएको छ।

यसअघि हुलाकी राजमार्गमा भारत सरकारले अप्टिकल फाइबर विछ्याइदिने  प्रस्ताव गरेको थियो। तर, उक्त प्रस्तावको बारेमा छलफल भए पनि नेपाल सरकार यही आयोजनाको लागि विदेशी सहयोग नलिने मनस्थितिमा पुगेको हो।

करिब ९० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको उक्त परियोजनाको लागि विदेशी सहयोग लिनुभन्दा सरकारसँग स्रोतको कुनै कमी नभएकोले आफैं बनाउने सकिने निष्कर्षमा संचार मन्त्रालय पुगेको हो।

भारतीय प्रस्तावको बारेमा छलफल भए पनि त्यति सानो परियोजना नेपाल आफैंले बनाउन सकिने तिर उत्तिकै छलफल भइरहेको संचार मन्त्रालयका प्रवक्ता तथा सहसचिव रामचन्द्र ढकालले सेतोपाटीलाई जानकारी दिए।

‘त्यो पहिले नै आएको प्रस्ताव हो त्यसबारेको छलफल चलिरहेको छ’ ढकालले सेतोपाटीसँग भने,‘तर त्यस बारेमा निर्णय भने केही भएको छैन।’

एका तिर भारतीय प्रस्ताव छलफलकै क्रममा छ भने अर्कोतिर नेपाल दुरसंचार प्राधिकरणले २ नम्बर प्रदेशका आठ जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा विस्तारको लागि परियोजना नै अगाडि बढाइसकेको छ।

महेन्द्र राजमार्गमा यसअघि नै अप्टिकल रहेको र हुलाकी मार्गमा राख्नेवित्तिकै एकआपसमा जोडेर द्रुतगतिको सूचना राजमार्ग स्थापना गर्न सकिने प्राधिकरणले जनाएको छ।

यसअघि भारतले भारतीय कम्पनीमार्फत ९० करोडको लागतमा हुलाकी राजमार्गसँगै अप्टिकल फाइबर पनि विछ्याइदिने प्रस्ताव राखेपछि संचार मन्त्रालयले प्राधिकरणसँग राय मागेको थियो। प्राधिकरणले पनि राख्न सकिने आसयको सुझाव दिए पनि मन्त्रालय अहिले आएर आफैं बनाउने निष्कर्षमा पुगेको हो।

‘सकेसम्म स्वदेशी स्रोतबाटै परियोजना निर्माण गर्नुपर्छ भन्ने तर्क बलियो भएपछि भारतीय प्रस्ताव करिब करिब अस्वीकृत भइसकेको छ,’ एक अधिकारीले सेतोपाटीसँग भने, ‘विभिन्न समयमा हुने छलफलमा कुरा उठ्ने गरेका भए पनि यो प्रस्तावको बारेमा खासै गहन छलफल भएको छैन।’

प्रत्येक राष्ट्रिय राजमार्गमा इन्टरनेट पूर्वाधार विस्तार गरी सूचना सञ्जाल विस्तार गर्ने सरकारी लक्ष्य अनुसार हुलाकी राजमार्गमा पनि त्यस्तो सञ्जाल विस्तार गर्ने योजना रहेको छ।

उक्त सूचना मार्ग निर्माण भएपछि जोडिएका सहर, बस्तीहरूमा द्रूत गतिको इन्टरनेट सेवा पुग्ने छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.