टेलिकमका ग्राहकले मोबाइल एपबाट नेपाली गीत सुन्न पाउने


नेपाल टेलिकमले म्युजिक नेपालसँगको सहकार्यमा मोबाइल एप मार्फत म्युजिक स्ट्रिमिङ सेवाको आजदेखि सुरु गरेको छ।

टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले मोबाइल एपमार्फत स्ट्रिमिङ सेवाको शुभारम्भ गर्दै राष्ट्रको सञ्चारको रुपमा रहेको नेपाल टेलिकम र  संगीत उत्पादक कम्पनी म्युजिक नेपाल मिलेर नेपाली संगीतलाई केन्द्रित गरी मोबाइल एप उपलब्ध गराउन सफल भएकोमा खुशी ब्यक्त गरे। उनले मोबाइल प्रयोगकर्ताका बीचमा यो एप लोकप्रिय हुने विश्वास ब्यक्त गर्दै आगामी दिनमा थप सुविधासहित परिमार्जित गरिने बताए।

म्युजिक स्ट्रिमिङ सेवाबाट ग्राहकले एउटै प्लेटफर्ममार्फत संगीतको आनन्द लिन सक्नेछन् । ̒म्युजिक नेपाल’ मोबाइल एप डाउनलोड गरी सो मार्फत कुनै पनि विधामा अहिलेका लोकप्रिय गीतहरु मात्र नभई पुराना सदावहार नेपाली गीतहरु पनि चौविसै घण्टा सुन्न सकिने छ । उक्त गीतहरु समाजिक संजालमार्फत सेयर पनि गर्न सकिने टेलिकमले जानकारी दिएको छ।

म्युजिक स्ट्रिमिङ सेवा सूचारु गर्दै म्युजिक नेपाल र नेपाल टेलिकमका पदाधिकारीहरु

नेपाल टेलिकमका ग्राहकलाई मात्र उपलब्ध हुने यो सेवा पहिलो एक महिनाको लागि निशुल्क उपलब्ध गराइने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। एक महिना पछि भने ग्राहकले शुल्क तिरेर साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । डाउनलोड गरेको एप्प खोलेर आफ्नो मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी यसको प्रयोग गर्न सकिने छ ।

मोबाइल डाटा प्रयोग गरी गीत डाउनलोड गर्दा डाटा शुल्क भने लाग्नेछ । साथै वाइफाई प्रयोग गरेर पनि कम्पनीका ग्राहकले संगीतको आनन्द लिन सक्नेछन् ।

हाललाई  एन्ड्रोइड मोबाइलमा उपलब्ध हुनेछ  यो सेवा मार्फत  नेपाली आधुनिक तथा सदावहार गीत संगीतहरु मात्र उपलब्ध भए पनि निकट भविष्यमा विदेशी गीत संगीतहरु समेत उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ।

यो एप मंगलबारदेखिमात्र उपभोक्ताले प्रयोग गर्न पाउने छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.