नेपालको दूरसञ्चार क्षेत्रको नियमक नेपाल दूरसञ्चार प्राधिकरणले आगामी साउन १ गतेदेखि मोबाइ डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्ने भएको छ।
गैरकानूनी बाटोबाट आएका मोबाइलको प्रयोगलाई रोक्न भन्दै प्राधिकरणले यो प्राणाली लागू गर्ने तयारी प्राधिकरणले गरेको छ।
साउनदेखि प्रणाली लागू भएपछि आधिकारिक रुपमा आयात भएका फोन बाहेक अरु दर्ता नगरी चलाउन नपाइने प्राधिकरणले बताएको छ।
नेपालको प्रणालीमा डिभाइसको आइएमइआइ नम्बर दर्ता नभएमा नेपालको क्षेत्रभित्र चल्न नमिल्ने बनाइदिने प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणको यो निर्णय आएपछि व्यक्तिगत रुपमा विदेशबाट ल्याइएका स्मार्टफोनको अवस्था के हुन्छ? यसअघि नै विदेशबाट आएका यस्तै फोन चल्छन् कि चल्दैनन्? हामीले यो प्रश्न प्राधिकरणका प्रवक्ता सन्तोष पौडेललाई राखेका थियौं।
पौडेलले विदेशबाट कुनै पनि व्यक्तिले ल्याएका फोन, अर्थात् भविष्यमा त्यसैगरी आउने फोन ब्लक नगरिने प्रष्ट पारे। तर मोबाइलको आइएमइआइ नम्बर भने दर्ता गर्नुपर्ने उनको भनाइ छ।
‘अहिले जसरी फोनहरु व्यक्तिगत रुपमा आइरहेका छन् भन्सार छुट सुविधा प्रयोग गरेर भविष्यमा पनि त्यसैगरी आउनसक्छन्। र अहिले जसरी चलिरहेका छन् प्रणाली लागू भएपछि पनि त्यसैगरी चल्न पाउनेछन्। तर फरक कतिमात्र भने हामीले उपलब्ध गराएको प्रणालीमा त्यस्ता मोबाइलको आइएमइआइ नम्बर दर्ता गराउनुपर्छ’ उने भने।
पौडेलका अनुसार प्रणाली लागू हुनुभन्दा पहिले नै व्यक्तिगत रुपमा आएका फोनमा नेटवर्क अवरुद्ध भने हुने छैन। तर प्रणालीमा उपभोक्ता आफैंले दर्ता गर्नैपर्ने छ।
प्रणाली लागू भएपछि विदेशबाट फोन आउँदा भन्सार छुटको सुविधा उपयोग गर्ने उपभोक्ताहरुले भन्सारबाट निस्किदा भन्सार छुटको मोबाइल हो भन्ने जानकारी ल्याउनुपर्ने छ। भन्सार विभागको पनि पहुँच हुने यो प्रणाली लागू भएपछि विदेशबाट छुट उपयोग गरी आउने मोबाइलको हकमा त्यस्तो क्लेरेन्स पत्र दिने व्यवस्था गरिने उनको भनाइ छ।
भन्सारको नियमअनुसार विदेशबाट फर्किएका नेपाली यात्रुले दुईवटासम्म फोन ल्याउन पाउछन्। एउटा चलाइरहेको र अर्को नयाँ फोन ल्याउन पाउछन्।
यो वेबसाइटमा गएर कुनै पनि उपभोक्ताले आफ्नो फोन दर्ता गर्नसक्छन्। तर नेपालमै किनेका फोन भने दर्ता गर्नुपर्ने छैन। अहिले यो वेबसाइट मर्मतको काम भइरहेको छिट्टै समाधान हुने पौडेलले जानकारी दिए।