प्रख्यात सेलिब्रटी, कम्पनीहरूको फेसबुक, ट्वीटरको ह्यान्डल छेउ निलो चिह्न, अर्थात् 'ब्लु टिक' देखिन्छ। यस चिह्नले व्यक्ति वा संस्थाको सामाजिक सञ्जाल आधिकारिक रहेको र अकाउन्टमा सार्वजनिक चासो उच्च रहेको बुझिन्छ।
तर ट्वीटर र फेसबुक अकाउन्टमा ब्लु टिक यसै पाउन सकिँदैन। यसको लागि ट्वीटर र फेसबुकले बनाएको प्रमाणीकरण प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
ब्लु टिक पाउन ट्वीटर र फेसबुक अकाउन्ट प्रामाणिक, उल्लेखनीय र सक्रिय हुन जरुरी छ। फेसबुक र ट्वीटरले ६ प्रकारमा अकाउन्ट छुट्टाएको छ, जसमा प्रयोगकर्ताको अकाउन्ट यी वर्गमध्ये एउटामा पर्नुपर्ने हुन्छः
१. सरकारी
२. कम्पनी, ब्रान्ड र गैरनाफामूलक संस्था
३. समाचार संगठन र पत्रकार
४. मनोरञ्जन
५. खेल
६. कार्यकर्ता, आयोजक र अन्य प्रभावशाली व्यक्ति
प्रयोगकर्ताका अकाउन्ट यी वर्गमा पर्ने निश्चित भएपछि बल्ल प्रमाणीकरण प्रक्रिया अगाडि बढाउन सकिन्छ।
ट्वीटरको प्रमाणीकरण प्रक्रिया सुरू गर्न अकाउन्टको बायाँपट्टि छेउमा तीन वटा थोप्लो चित्र भएको 'मोर' विकल्पमा क्लिक गर्नुपर्छ।
त्यसपछि 'सेटिङ एन्ड प्राइभेसी' मा क्लिक गरेर 'योर अकाउन्ट'मा जानु पर्छ। 'योर अकाउन्ट' भित्र 'अकाउन्ट इन्फरमेसन' विकल्प हुन्छ, जसमा प्रयोगकर्ताको सबै आधिकारिक विवरण जानकारी हुन्छ। त्यसमध्ये 'भेरिफिकेसन रिक्वेस्ट'मा क्लिक गरेर ट्वीटरले माग्ने थप जानकारी पूरा गर्न सकिन्छ।
आफ्नो अकाउन्टबारे सबै विवरण दिएपछि बल्ल 'भेरिफिकेसन रिक्वेस्ट' बुझाउन पाइन्छ।
प्रयोगकर्ताको 'भेरिफिकेसन रिक्वेस्ट'मा रहेको विवरण समीक्षा गरेपछि ट्वीटरले ब्लु टिक दिने वा नदिने निर्णय गर्छ। एकपटक अकाउन्ट प्रमाणित भएपछि आफ्नो ट्वीटर ह्यान्डलमा ब्लु टिक देख्न सकिन्छ।
यसैगरी, फेसबुक अकाउन्ट पनि भेरिफाइ गर्न सकिन्छ। फेसबुक अकाउन्ट भेरिफिकेसन गर्न पहिला आवश्यक पूर्ण विवरण राख्नुपर्छ।
कुनै पेज वा अकाउन्ट सक्रिय, प्रामाणिक र उल्लेखनीय भए मात्रै ब्लु टिक भेरिफिकेसनका लागि योग्य हुन्छ। अकाउन्ट भेरिफाइ गर्न फेसबुकको यो लिंकमा जानुपर्छ।
यो लिंकमा आफ्नो अकाउन्टको वर्ग, आधिकारिक कागजपत्रको तस्वीर र उल्लेख गरिएका विवरण ध्यानपूर्वक भर्नुपर्छ।
फेसबुक प्रमाणीकरण टोलीले भरिएको विवरणको जाँच गर्छ र अकाउन्ट प्रमाणीकरण गर्न योग्य छ कि छैन भनेर निर्धारण गर्छ। अकाउन्ट प्रमाणित भएपछि आफ्नो फेसबुक ह्यान्डलमा ब्लु टिक देख्न सकिन्छ।
यदि तपाईंको पेज वा प्रोफाइल स्वीकृत भएन भने तपाईंले ३० दिनपछि यसका लागि पुन: आवेदन दिन सक्नुहुन्छ।
कसैको अकाउन्टमा भने भेरिफिकेसन गर्न मिल्ने अप्सन नै देखाउँदैन। यसको अर्थ तपाईंको अकाउन्ट भेरिफाइ हुन योग्य भइसकेको छैन भन्ने बुझ्नुपर्छ।