साइबर सुरक्षाबारे अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्देश्यका साथ यहि साउन ११ र १२ गते राजधानीमा सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ हुने भएको छ । ‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स’ भन्ने मूल नारासहित हुने समिट होटल र्याडिसनमा आयोजना हुनेछ ।
समिट २०१८ मा सूचना प्रविधि क्षेत्रमा आबद्ध व्यवसायीक व्यक्तिहरु, सुरक्षा विज्ञहरु, सरकारी अधिकारीहरु, व्यवसायीहरुका साथमा विद्यार्थीहरुको सहभागिता हुनेछ ।
समिटको पूर्वसंध्यामा हुने प्रि–समिट वर्कसपलाई लावा, चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजिज् र इसी काउन्सिलले सहजीकरण गर्नेछन्, जुन समिटको दिनमा पनि निरन्तर हुनेछ । समिटको अवसरमा विश्वपरिवेशमा साइबर सुरक्षाका विभिन्न आयमहरु बारे छलफल हुनेछ । विशेषगरी साइबर कानून, साइबर नीति र साइबर सुरक्षाका अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा समिटमा गम्भीर रुपमा छलफल हुने छ । व्यापार तथा वित्त क्षेत्रको आवश्यकताअनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरुको पहिचान पनि समिटमा हुने छ ।