सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तह र सामुदायिक विद्यालयहरूमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउने महत्वकांक्षी योजना अघि सारेको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तह र सामुदायिक विद्यालयहरूमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन्।
सरकारी तथ्यांक अनुसार नेपालका १ सय ५० भन्दा बढी गाउँपालिकामा इन्टरनेट सेवाको अभावमा बैंकहरू सञ्चालनमा आउन सकेका छैनन्। मन्त्री बाँस्कोटाले सुशासन र समृद्धिको संकल्पलाई अघि बढाउन पनि सबै स्थानीय तहमा तत्काल इन्टरनेटको व्यवस्था गर्न लागिएको स्पष्ट पारे।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशभरका सबै सामुदायिक विद्यालयहरूमा पनि इन्टरनेटको सेवा आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए।
नयाँ पुस्तालाई प्रविधिमा पहुँच पुर्याउन पनि सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा सञ्चालन गर्नुको विकल्प नरहेको मन्त्री बाँस्कोटाको भनाइ छ।
नेपालमा २९ हजार सामुदायिक विद्यालय रहेकोमा हाल ८ हजार विद्यालयमा मात्रै इन्टरनेट सेवा उपलब्ध रहेको बताइएको छ।
मन्त्री बाँस्कोटाले अब सबै सामुदायिक विद्यालयहरूमा इन्टरनेट सेवा सञ्चालनमा ल्याइने बताए।
उनले त्यसका लागि सरकारसँग स्रोत र साधनको पर्याप्त व्यवस्था नभए पनि सहयोगी हात रहेको बताए।